मन्त्रिपरिषदका पाँच समिति गठन, तोकिए संयोजक
काठमाडौं । सरकारले मन्त्रिपरिषद्का पाँच समिति गठन गरी तिनका संयोजक तोकेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार सिंहदरबारमा भएको मन्त्रिपरिषद्को बैठकले राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको हो ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार बैठकले राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई तोकेको छ ।
प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारी र विधेयक समितिको संयोजकको जिम्मेवारी गृहमन्त्री रमेश लेखकलाई दिइएको छ ।
बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ ।
नयाँदिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औं बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन बैठकले अनुमति दिएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया