NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ भदौ १९ गते

१७ विद्यार्थीलाई बंगलादेशबाट आज फर्काइँदै, चाहेमा अरूलाई पनि ल्याइने

काठमाडौं । बंगलादेशमा प्रदर्शन चर्किएपछि सरकारले १७ विद्यार्थीलाई आज स्वदेश फर्काउने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित परिवारको मागबमोजिम बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजमा पढ्ने १७ नेपाली विद्यार्थीहरूलाई आज स्वदेश फर्काउन प्रबन्ध मिलाइएको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले शनिबार राति सामाजिक सञ्जालमा लेखेका छन्, “बङ्गलादेशमा सरकारी सेवामा रहेको कोटा प्रणाली खारेजीको माग गर्दै भएको आन्दोलनका कारण त्यहाँ मेडिकल शिक्षा पढ्दै आएका नेपाली विद्यार्थीले आफू असुरक्षित भएको बताइरहेका छन् । ती विद्यार्थीका परिवारसँग आज मेरो भेट भयो । परिवारको मागबमोजिम सवार एरियाको इनाम मेडिकल कलेजमा पढ्ने १७ जना नेपाली विद्यार्थीलाई भोलि बिहान ४ बजे ढाका एयरपोर्ट ल्याएर त्यहाँबाट काठमाडौं फर्काउने प्रबन्ध गरिएको छ ।”

प्रधानमन्त्री ओलीले नेपाल फर्कन चाहने अन्य विद्यार्थीको सहजीकरणका लागि परराष्ट्र मन्त्रालयले अनलाइन फारम भर्न सूचना जारी गरिसकेको पनि उल्लेख गरेका छन् ।

बङ्गलादेशमा सरकारी सेवा प्रवेशमा निर्धारित गरिएको आरक्षणको विरोध गर्दै विद्यार्थीहरूले आन्दोलन गरिरहेका छन् । करिब तीन हजार नेपाली विद्यार्थी बङ्गलादेशमा रहेका ढाकास्थित नेपाली राजदूतावासले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष