पदीय लेनदेनको हिसाब मिलाउन उपसभामुखमाथि आक्रमण गरियो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले क्षणिक पदीय लेनदेनको हिसाब मिलाउन सत्तारुढ दलले उपसभामुख इन्दिरा राना मगरमाथि अनावश्यक लाञ्छना लगाएको आरोप लगाएको छ ।
अमेरिकामा आयोजना हुन लागेको आफू सहभागी हुने कार्यक्रममा युवाहरूलाई लैजान उपसभामुख रानाले अमेरिकी दूतावासलाई पत्र लेख्दै अन्तर्वार्ताको समय अगाडि पारिदिन आग्रह गरेको प्रकरण पेचिलो बनिरहेका बेला रास्वपाले आरोपहरू मिथ्यापूर्ण रहेको प्रष्टीकरण दिएको हो । पार्टीले गरेको छानबिनका क्रममा उपसभामुखले गलत गरेको नदेखिएको उल्लेख गर्दै रास्वपाले राजनीतिक स्वार्थ पूरा गर्न यो विषय उछालिएको ठहर गरेको छ ।
‘संघीय संसद् सचिवालयलगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
आफ्ना सारा आम्दानी र सम्पत्ति निःस्वार्थ समाज सेवामा लगाएकी रानालाई यही निष्कलंक र उज्यालो छविकै कारण सुरुमा सांसद र पछि उपसभामुखको उम्मेदवार बनाएको स्पष्ट पार्दै रास्वपाले उनीमाथि सरकारी निकायले गर्ने छानबिनमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाएको छ ।
रास्वपाको छवि धुमिल पार्ने दूषित मनसायबाट छद्य रूपमा भइरहेका यस्ता प्रहारबाट रास्वपा विचलित नहुने बरु सुशासन, सामाजिक न्याय र द्रुत आर्थिक विकासको मार्गमा दृढताका साथ अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले काण्डैकाण्डको चाङमाथि लडाउन मध्यरातमा ठडिएको गठबन्धनका आगामी चालप्रति सचेत रहन पनि सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरेको छ ।
ताजा अपडेट
-
स्ट्रेट अफ होर्मुजमा तनाव: अमेरिकी हेलिकोप्टर खसालिएपछि इरानको केशम टापुमा अमेरिकाको जवाफी हमला
-
तीन वर्षभित्र संरचना निर्माण गरी जिम्मेवारी हस्तान्तरण गर्ने मन्त्री पुनको घोषणा
-
पर्यटन आम्दानीमा सामान्य गिरावट, सेवा खातामा ६८ अर्बभन्दा बढी घाटा
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स



प्रतिक्रिया