NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २७ गते

पुरानो बस सञ्चालनमा रोक लगाउन माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद जीवन परियारले सार्वजनिक तथा विद्यालयका बस थोत्रा हुँदा दुर्घटनाको जोखिम बढेको भन्दै पूराना बस सञ्चालनमा रोक लगाउन माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँले दुर्घटना न्यूनीकरणका योजना कार्यान्वयन गर्न सरकारको ध्यानाकर्षण गराए ।

“स्कुल बस र सार्वजनिक बस निकै पुराना भएकाले पनि दुर्घटनाको जोखिम बढेको छ, सरकारले यसलाई नियमन गर्नुपर्छ”, उनले भने, “घुम्ती सडकमा छेकबार तथा सङ्केत चिह्न नहुँदा दुर्घटना हुने गरेका छन्, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलैमा ध्यान दिनुपर्छ ।”

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद सूर्यप्रसाद ढकालले बाँकेको राप्तीसोनारी गाउँपालिका– ७ झगडिया क्षेत्रमा राप्ती नदीमा यथाशीघ्र तटबन्धको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराए ।

“बेलैमा तटबन्ध गरिएन भने राप्तीसोनारी–७ को आधा गाउँ र नरैनापुर गाउँपालिकाका सबै वडा डुबान जोखिममा पर्ने र ६० हजार बढी जनता विस्थापित हुने देखिएको छ, यतातर्फ सरकार र सिङ्गो सदनको ध्यान जानुपर्छ”, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले धादिङ जिल्ला अस्पतालभित्र राजनीति गतिविधि व्याप्त भएको दाबी गर्दै अस्पताल व्यवस्थापन समितिलाई पार्टीको भ्रातृ सङ्गठन बनाइएकामा विरोध गरे । “अस्पतालमा कार्यरत सक्षम जनशक्तिलाई टिक्न नदिइ सरुवा गराउन गरिएको छ, स्वास्थ्य संस्थालाई यसैगरी अघि बढाउने हो भने स्वाथ्य क्षेत्रमा सुधार हुन्छ रु स्वास्थ्य क्षेत्रमा राजनीतिक दलले गैरजिम्मेवार काम गर्न हुँदैन”, उनले भने ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद सर्वेन्द्रनाथ शुक्लाले चितवनको सीमलतालमा पहिरोसँगै त्रिशूली नदीमा बेपत्ता भएका दुई बस र यात्रुको खोजी प्रभावकारी हुन नसकेको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले वैदेशिक रोजगारी जाने युवाहरु ठगी बढिरहेको तथ्य प्रस्तुत गर्दै ठगी नियन्त्रणमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले रुस–युक्रेन युद्धमा घाइते भएका दैलेखका दुई युवाका उद्धार गरी स्वदेश फर्काउन सरकारसँग माग गरे ।

ताजा अपडेट

नेपालवाच विशेष