बिमाका लागि अपराधः चोरी, आगजनीदेखि हत्यासम्म
काठमाडौं । बिमा रकम हात पार्नका लागि अपराधका घटना बढ्न थालेका छन् । पोखरामा सपिङ सेन्टर सञ्चालकले बिमाकै लागि योजनाबद्ध रुपमा आगजनी गरेको खुलेको छ ।
ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र उनका साथी बिरौटाका ४३ वर्षीय पवन नेपालले पोखरा–६ नारेश्वरचोकमा साउन १६ को बिहान आफ्नै सपिङ सेन्टरमा आगजनी गरेका हुन् । उनीहरुले थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले मुक्तिनाथ सपिङ सेन्टर चलाएका थिए । जहाँ साउन १६ गते आगलागी भएको थियो । अनुसन्धानको क्रममा बीमाको करिब दुई करोड हात पार्न आफैं आगो लगाएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
सुरुमा उनीहरुले नयाँ इन्भर्टर जडान गरेको र उक्त इन्भर्टरको वायरिङबाट सर्ट भई आगो लागेको बताएका थिए । शंका लागनी अनुसन्धान गर्दा योजनाबद्ध रुपमै आगजनी गरेको पुष्टि भएको कास्कीका एसपी मोहन थापाले बताए ।
प्रहरीका अनुसार एक महिनाअघि मात्र सुजनले पसलको बीमा गराएका थिए । असार १५ मा हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडको न्युरोड कार्यालयबाट पसलको बिमा गराएका थिए । आगलागी भएको भोलिपल्ट साउन १७ मा बिमा दाबी गर्दै निवेदन दिएपछि प्रहरीलाई शंका लागेको थियो । हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेडमा सुजनले २ करोड १० लाख बराबरको बिमा गरेका थिए ।
प्रहरीका अनुसार सुजनले आफ्नो पसल नचलेको, सामान धेरै स्टक रहेको र घरबेटीसँग भाडाका विषयमा विवाद भइरहेको कुरा पवनलाई सुनाएका थिए । पवनले पश्चिमाञ्चल एकीकृत कृषि केन्द्रबाट आफूले सञ्चालन गरेको सफल पोल्ट्री फार्ममा आगो लाग्दा बिमा कम्पनीबाट ३१ लाख रुपैयाँ पाएको सुजनलाई सुनाउँछन् । उनको कुराबाट सुजन प्रभावित हुन्छन् र आफ्नो पसलमा जानाजान आगजनी गराउने अपराधतर्फ लाग्छन् । यसमा दुवै जनाको मिलेमतो हुन्छ ।
सिसिक्यामेरामा पनि उनीहरुको गतिविधि शंकास्पद देखिएको थियो । सुजन सटर लगाएर हतारहतार त्यहाँबाट निस्किएर गाडी चढेका थिए । त्यसअघि पवनले सलाइ बालेर एक्कासि आगो लगाएका थिए । पक्राउ गरेर सोधपुछ गर्दा उनीहरुले अपराध स्वीकार गरेको एसपी थापाले बताए ।
यसरी बिमा रकम हात पार्नका लागि यसअघि पनि विभिन्न अपराध भएका छन् । गत महिना मात्र चितवनमा सुन पसल लुटिएको नक्कली घटना भएको थियो । कालिका नगरपालिका ६ का विनोद सुनारले विनोद विश्वकर्माले आफ्नो पसल चोरी भएको भन्दै प्रहरीमा उजुरी दिएका थिए । अनुसन्धानका क्रममा उनले आफैं चोरी गर्न लगाएको र त्यसअघि बिमा गरेको खुलेको थियो । प्रहरीले गत १८ असारमा विनोदसहित ५ जनालाई पक्राउ गरेको थियो ।
तीन वर्षअघि कोहलपुरमा सर्जन विकसँग कानूनी विवाह गरी उनको बिमा गराएपछि योजनाबद्ध रुपमा हत्या भएको थियो । जसमा प्रहरीले बिमाका कर्मचारी समेतलाई पक्राउ गर्याे । व्यापार बिग्रिएर आर्थिक समस्यामा परेपछि आफुले यस्तो गरेको उनले पक्राउ परेपछि बताएका थिए।
त्यस्तै, चार वर्षअघि रुपन्देहीको सम्सरमाईमा श्रीमानले नै कुसुम लोधको हत्या गरेका थिए । बिमा रकमका लागि शैलेक कुमार लोध र उनका भाई राजेश कुमार लोध मिलेर हत्या गरेको खुलेको थियो । बिमाका लागि पटक पटक हत्याका घटना भएका छन् ।
ठूला व्यापारीहरुले समेत बिमाका लागि कारखानामा आगो लगाउने गरेको आरोप लाग्दै आएको छ ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया