बंगलादेशको तरंग नेपालमा
काठमाडौं । सरकारी जागिरमा आरक्षणको व्यवस्था संशोधनको माग राखी विद्यार्थीहरूले थालेको आन्दोलन चर्किएपछि बंगलादेशकी प्रधानन्त्री शेख हसिनाले पद त्यागेर देश छाडेकी छिन् । सैनिक विमानबाट उनी भारत पुगेपछि त्यहाँ सेनाले नयाँ सरकार गठनको तयारी गरेको छ ।
यो घटनाले विश्वमै तरंग ल्याएको छ । नेपालमा पनि यस विषयमा अनेक विश्लेषण र टिप्पणी हुन थालेको छ । नेपालमा पनि राजनीतिक दलहरु नसुध्रिएको भन्दै भोलिका दिनमा यस्तै अवस्था आउन सक्ने भन्दै सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ ।
ठूला नेताहरुले नै यस विषयमा आफ्नो विचार राखेका छन् । माओवादी अध्यक्ष प्रचण्डले नेपाली शासकहरुलाई समेत पाठ भएको बताएका छन् । बहुमत छ जे गर्दा पनि हुन्छ भन्नेहरुले यो घटनाबाट पाठ सिक्नुपर्ने उनको भनाई छ ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले त नेपालमा पनि यस्तै आन्दोलनको आवश्यकता भएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्–
नेपालमा पनि महाआन्दोलनको आवश्यकता
छातीमा हात राखेर आफैंलाई सोध्नुस्, तपाईंलाई पनि थाहा छ।
यो आलोपालोटालोका सरकारहरूले देशलाई कतै कुनै उँभो लगाउँदैनन्। केवल सबै भ्रष्टाचारी मिलेर देश लुट्ने र आफूहरूलाई बचाउने बाहेक केही गर्नै सक्दैनन्। महाआन्दोलन नै नेपालको लागि पनि निकास हो ।
त्यस्तै, एमाले नेता गोकर्ण बिष्टले सर्वशक्तिमाथि जनता नै हुन् भन्ने पुर्नपुष्टि भएको बताएका छन् । विष्टले लेखेका छन्,‘विगत १५ वर्षदेखि लगातार बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिनाले लोकतन्त्रका आधारभूत मूल्य मान्यता र जनआवाजलाई वेवास्ता गर्दै सत्तामा टिकिरहन् अनेकन प्रयत्न गरिन् । अन्ततः उनी असफल भइन् । देश छोड्न बाध्य बनिन् । यो पछिल्लो घटनाले,’सर्वशक्तिमान जनता नै हुन् र अन्तिम शक्ति जनता मै निहित रहन्छ’ भन्ने कुराको पुर्नपुष्टि भएको छ ।’
सुरक्षा जोखिमबारे विश्लेषण
बंगलादेशको घटनापछि नेपालमा पर्न सक्ने जोखिमबारे छलफल गर्न सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । बैठकले सीमा सुरक्षा सक्रियता बढाउन निर्देशन दिएको छ ।
साथै, सो घटनाबाट प्रेरित भइ नेपालमा पनि धार्मिक तथा आरक्षण कोटासम्बन्धि आन्दोलन हुनसक्ने भन्दै सतर्कता बढाउनुपर्नेमा जोड दिइएको छ। गृहमन्त्री रमेश लेखकको नेतृत्वमा बैठक बसेको हो ।
प्रतिक्रिया