भरतपुरका सबै वडामा ‘सिसी क्यामेरा’ जडान
चितवन । भरतपुर महानगरपालिकाका २९ वटा वडाका संवेदनशील क्षेत्रहरुमा सिसी क्यामेरा जडान गरिने भएको छ ।
महानगरपालिकाले बोलपत्र आह्वान गरी क्यामेरा जडानको प्रक्रिया अघि बढाएको छ । महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलका अनुसार चार अटोमेटिक नम्बर प्लेट रिकोनाइजेसन (एएनपिआर) सहित चार सय १८ उच्च क्षमताका क्यामेरा जडान गर्न लागिएको हो ।
उनका अनुसार छ वटा कम्पनीको बोलपत्र परेको छ । महानगरपालिकाले रु १० करोड ८३ लाख बराबरको बजेटको बोलपत्र आह्वान गरेको छ । महानगरपालिकाका प्रमुख रेनु दाहालले सहरी क्षेत्रमा धेरै र ग्रामीण क्षेत्रमा आवश्यकताअनुसार सिसी क्यामेरा जडान गर्न लागिएको बताइन्।
उनले भनिन्, “महानगरका सबै वडामा सिसी क्यामेरा जडान गर्दैछौँ ।” ती सबै क्यामेराको ‘कन्ट्रोल रुम’ जिल्ला प्रहरी कार्यालयमा रहने छ । एकै ठाउँमा कन्ट्रोल रुम रहने गरी महानगर भरी उच्च प्रविधिका सिसी क्यामेरा जडान गर्न लागिएको प्रमुख दाहालको भनाइ छ ।
नेपाल टेलिकमको फाइबरमार्फत सिसी क्यामेरा सञ्चालन गरिने छ । महानगरपालिकाले नेपाल टेलिकामसँग सम्झौता गरेर काम अघि बढाएको हो । बोलपत्रको टुङ्गो लागेपछि सकार्ने कम्पनीसँग सम्झौता गरेको चार महिनाभित्रमा काम सम्पन्न हुने दाहालको भनाइ छ ।
उनले भनिन्, “ढिलोमा यो आर्थिक वर्षभित्रमा महानगरका सबै वडामा सिसी क्यामेराको पहुँच पुग्नेछ ।” जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक भाबेष रिमालले महानगरले जडान गर्ने क्यामेराबाट यहाँको शान्तिसुरक्षा र अमन चयनमा सहयोग पुग्ने बताए ।
शान्तिसुरक्षासँगै यहाँ हुने दुर्घटनाको अनुगमनका लागि क्यामेरा सहयोगी बन्ने छ । उनले भने, “कम जनशक्तिमा काम गर्नुपर्दा सिसी क्यामेरा निकै सहयोगी बन्ने छ ।”
ताजा अपडेट
-
पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह
-
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
-
दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने गृहमन्त्री गुरुङको निर्णय
-
वसन्त ऋतुको हिमाल आरोहणबाट उठ्यो एक अर्ब २६ करोड राजस्व
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ


प्रतिक्रिया