घोरेपानी हिँडेका दुई स्पेनिस पर्यटक बेपत्ता
कास्की । चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गतको प्रसिद्ध पर्यटकीयस्थल घोरेपानी पदयात्राका क्रममा दुई स्पेनिस पर्यटक बेपत्ता भएका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका–९, तिखेढुङ्गाबाट आइतबार उल्लेरी हुँदै घोरेपानी जाने क्रममा स्पेनिस नागरिक इरिक कासानोभास (पुरुष) र मोलास जुन्का मेसी (महिला) सम्पर्कविहीन भएको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।
भुरुङदी खोलाको पुल नजिक पर्यटकका दुई झोला आइतबार साँझ बाटोमा बेवारिसे अवस्थामा भेटिएपछि सोमबार दिनभर खोजी गरे पनि अवस्था पत्ता लाग्न नसकेको उनले बताए । पर्यटकलाई भुरुङदी खोलाले बगाएको हुन सक्ने आशंका गरिएको छ ।
“पुरानो बाटोबाट हिँड्दा खोलाले बगाएको हुनसक्छ । उहाँहरूले विरेठाँटीमा रहेको एक्यापको चेकपोस्टमा घोरेपानी जान लागेको भनेर दर्ता गर्नुभएको रहेछ”, प्रवक्ता गुरुङले भने ।
एक्याप विरेठाँटी चेकपोष्टका प्रमुख यामबहादुर गुरुङले आइतबार बिहान पर्यटकले कार्यालयमा नाम दर्ता गराएको जानकारी दिए । उनले बाटोमा झोला राखेर छहरामा फोटो खिच्ने क्रममा खोलामा खसेर बेपत्ता भएको हुन सक्ने आशंकाले दिनभर खोजी गरिएको बताए ।
प्रवक्ता गुरुङले भने, “पर्यटकको झोला भेटिएको नजिकै बाटोमा सुन्दर छहरा छ, त्यही फोटो खिच्ने क्रममा लडेर खोलामा परेका हुनसक्छन् । प्रहरी, जनप्रतिनिधि तथा स्थानीयवासीसहित खोज्ने क्रममा छहरामा दुई वटा स्टिक (लौरी) भेटिएको छ । अन्य कुरा फेला पार्न सकेका छैनौँ ।”
मङ्गलाबार गोताखोरसहितको टोलीले खोलामा खोजी गरिने जानकारी दिए । पर्यटक हराएको जानकारी दूतावासलाई गराइ सकिएको प्रवक्ता गुरुङले बताए ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया