प्रहरीलाई नेता भेट्न रोक

काठमाडौं । प्रहरीभित्र राजनीतिक हस्तक्षेप बढेपछि नेताकोमा धाउन रोक लगाइएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार एक परिपत्र जारी कार्यालयको काममा सहमति लिएर अन्य अवस्थामा भेटे कारबाही हुने चेतावनी दिएको छ ।
सरुवा–बढुवामा दबाब बढेपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेर अनुशासनमा बाध्न थालेको छ । प्रहरीमा हाल एसपी र डिएसपीको सरुवाको तयारी भइरहेको छ । सरुवाका लागि नेतामार्फत अत्याधिक दबाब आएपछि आइजिपी बसन्त कुँवरले परिपत्र गर्दै कारबाहीको चेतावनी दिएका हुन् ।
परिपत्रिमा भनिएको छ ,‘विभागीय नीतिनियमको धज्जी उडाउने, सांगठनिक गोपनीयता भंग गर्ने, नागरिक–प्रहरीबीचको अनुशासनात्मक एवं व्यवसायिक विश्वासको प्रतिकूल एवं पदीय दायित्वअनुसारको जिम्मेवारी निर्वाह गर्दा खरो रुपमा उत्रनु पर्नेमा सो नगरी शक्तिका अगाडि समर्पित हुने गरी कुनै विशेष व्यक्ति र शक्तिको अगाडि नतमस्तक भई संगठनमाथि अनावश्यक दबाब र प्रभावको सिर्जना गरी जिम्मेवारी प्रति उदासिन रहने गरेको भन्ने घटनाप्रति प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’ कामै नै छाडेर सरुवाका लागि प्रहरी अधिकारी यतीबेला शक्तिकेन्द्र धाउन व्यस्त भएपछि प्रहरी नेतृत्वले कडाई थालेको हो । अत्याधिक चलखेलका कारण एसपी र डीएसपी नियमित सरुवा हुन सकेको छैन ।
सशस्त्र प्रहरी बलले तीन महिनाअघि नै यस्तो आचारसंहिता लागू गरी केही अधिकृतलाई कारबाही समेत गरिसकेको छ ।
प्रतिक्रिया