संयुक्त राष्ट्रसङ्घको महासभा भोलिबाट, प्रधानमन्त्रीको बोल्ने पालो असोज १२ मा

न्युयोर्क । ‘कसैलाई पनि पछाडि नछाडौँः वर्तमान र भावी पुस्ताका लागि शान्ति, दीगो विकास र मानव निष्ठा सुनिश्चित गर्न सहकार्य’ भन्ने नाराका साथ संयुक्त राष्ट्रसङ्घको ७९औं महासभा अमेरिकाको न्युयोर्कमा भोलिदेखि सुरु हुँदैछ ।
राष्ट्रसङ्घको महासभा भोलिदेखि सुरु हुने भए पनि उच्चस्तरीय साधारण छलफल भने आगामी असोज ८ गतेदेखि हुनेछ । उक्त छलफल असोज १२ गतेसम्म हुने र समापन असोज १४मा हुने कार्यतालिकामा उल्लेख छ ।
नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले असोज १० मा महासभालाई सम्बोधन गर्ने राष्ट्रसङ्घको कार्यतालिकामा उल्लेख गरिएको छ ।
विश्वव्यापी रूपमा देखापरेको युद्धको जटिल अवस्था र यसले विश्वव्यापी रूपमा पारेको असर, कोरोनापश्चातको मूल्यवृद्धि र गरिबी, जलवायु परिवर्तन र दिगो विकासका लक्ष्य, मानव स्वास्थ्यको प्रतिकूलता, खाद्य सङ्कटलगायत विषयलाई केन्द्रमा राखेर विभिन्न चरणमा हुने छलफलमा विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुखले महासभामा भाग लिनेछन् ।
यसपटकको महासभा नेपालका लागि निकै महत्त्वपूर्ण रहेको जनाइएको छ । खासगरी संघीय संसदले हालै पारित गरेको सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकले विश्वसामु सकारात्मक सन्देश प्रेषित गर्न सक्नेछ । यसले नेपालले शान्ति प्रक्रियालाई निर्णायक बिन्दुमा पुर्याउन सफल भएको विश्वकै नमूनाका रूपमा प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछ ।
नेपालले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनाका लागि खटाएको सुरक्षाकर्मी र उनीहरूको योगदान अर्को महत्त्वपूर्ण अवसरका रूपमा उक्त फोरममा प्रस्तुत गर्न सक्नेछ । न्युयोर्कस्थित नेपाली नियोगका अनुसार नेपालले उच्चस्तरीय राजनीतिक मञ्चमा सहभागिता र साइडलाइन बैठकहरूमा आफ्ना विकास साझेदारहरूसँगको छलफललाई उच्च प्राथमिकतामा राख्ने छ ।
नेपालले दिगो विकासको लक्ष्य हासिलमा आफ्नो प्रतिबद्धताअनुसार काम गर्दै आएको विषयलाई समेत उच्च प्राथमिकतामा राखेको छ । त्यसैले ‘समिट अफ द फ्युचर २०२४’ मा नेपालले उच्चस्तरीय सहभागिता जनाएर भए–गरेका कामका बारेमा विश्व समुदायलाई जानकारी गराउनेछ ।
ताजा अपडेट
-
महिला एसियन कप छनोट चरणबाटै बाहिरियो नेपाल,उज्बेकिस्तान एसियन कपमा छनोट
-
उपाधि जितेको क्रिकेट टोलीलाई प्रधानमन्त्री ओलीले दिए बधाई
-
पर्यटकीय केन्द्र बन्दै तनहुँको ‘तीनखोले मन्दिर’
-
नागरिक उन्मुक्ति पार्टीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता
-
राजमार्ग अपडेटः विभिन्न जिल्लाका सातवटा सडक पूर्ण रूपमा अवरुद्ध
प्रतिक्रिया