कार्यालय प्रमुखले मात्रै धानिएको कृषि सामग्री कम्पनी
डुम्रे । तनहुँको व्यास नगरपालिका–३ तरकारी लाइनस्थित कृषि सामग्री कम्पनी लिमिटेड तनहुँ कार्यालय प्रमुखको भरमा चलेको छ । तीन जिल्ला कार्यक्षेत्र भएको कम्पनी शाखा प्रबन्धक दिनेश शर्माको भरमा चलेको छ ।
कम्पनीमा दरबन्दीअनुसारको कर्मचारी नहुँदा एक्लै चलाउनुपर्दा समस्या भएको उनले बताए । दुईजना श्रेणीविहीन कर्मचारीका भरमा आफू एक्लैले कार्यालय सञ्चालन गरिरहेको उनले बताए । “कुल सातजनाको दरबन्दी रहेको कार्यालयमा चारजनाको दरबन्दी खाली छ”, शर्माले भने, “विसं २०७६ देखि विज्ञापन रोकिँदा दरबन्दीको नयाँ कर्मचारी नआउने र भएका कर्मचारी अवकाश हुने भएकाले कार्यालय रित्तिँदै गएको हो ।”
उनका अनुसार कार्यालयमा वरिष्ठ सहायक र सहायक दुई–दुईजना गरी चार दरबन्दी रिक्त छ । एकजनाले मात्र कार्यालय सञ्चालन गर्नुपर्दा आफू कतै जाँदा निमित्त कार्यालय प्रमुखको जिम्मेवारीसमेत दिन नपाएको उनको गुनासो छ । बिदामा बस्नुपर्दा वा नियमित कार्यालय प्रमुखको बैठकमा जाँदा कार्यालय कर्मचारीविहीन हुने गरेको उनले बताए ।
कार्यालयमा कर्मचारी पदपूर्तिका लागि कृषि सामग्री कम्पनी लिमिटेड प्रधान कार्यालयमा पटकपटक जानकारी गराए पनि पूरा हुन नसकेको उनको भनाइ छ । राजन न्यौपाने सरुवा भएर नवलपुरको कावासोती गएपछि आफू एक्लैले कार्यालयमा धान्नुपर्ने अवस्था आएको उनले बताए ।
तनहुँ, लमजुङ र गोरखाका किसानलाई मलखाद बिक्री वितरण गर्दै आएको यस कार्यालयमा जनशक्ति अभावले सेवा प्रभावित हुँदै आएको छ । यस कम्पनीले तीन जिल्लामा दुई सय १९ वटा डिलरमार्फत किसानलाई मल बिक्री गर्दै आएको छ ।
विसं २०५२ र २०७३ मा विज्ञापन भई नियुक्त भएका बाहेक हालसम्म नयाँ कर्मचारी आएका छैनन् । विसं २०७६ मा भएको विज्ञापनउपर विवाद भई अदालतमा परेको मुद्दा हालसम्म कायमै छ । विज्ञापन विवादसम्बन्धी अदालतमा परेको मुद्दा विचाराधीन अवस्थामा रहेकाले थप जनशक्ति नियुक्ति प्रक्रिया अवरुद्ध भई दरबन्दीअनुसारको कर्मचारी कार्यालयमा व्यवस्थापन हुन नसकेको शाखा प्रबन्धक शर्माले बताए ।
ताजा अपडेट
-
सुधन गुरुङ र महावीर पुनले लिए पद तथा गोपनीयताको शपथ
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना


प्रतिक्रिया