NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असोज १९ गते

बिहीबारदेखि शनिबारसम्म ८ जिल्लामा भिषण वर्षाको सम्भावना

काठमाडौं । बिहीबारदेखि शनिबारसम्म पश्चिम नेपाल भीषण वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । मौसक पूर्वानुमान महाशाखाले बुधबार विशेष बुलेटिन जारी गर्दै बिहीबार साँझदेखि शनिबार बिहानसम्म गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका धेरै स्थान तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

यसमध्ये सुदुरपश्चिमका ८ जिल्लामा रेड अलर्ट जारी गरिएको छ । बर्दिया, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी, बैतडी र अछामलाई रेड अलर्टमा राखिएको हो । भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यूनचापीय प्रणाली थप विकसित भई उत्तर–पश्चिमतिर (नेपालनजिक) सर्ने सम्भावना भएका भिषण वर्षाको उच्च सम्भावना देखिएको हो ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको चेतावनी महाशाखाले दिएको छ। सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना छ। बुधबार राति गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। गृह मन्त्रालयले ती जिल्लामा बिशेष तयारी गर्न निर्देशन समेत दिएको छ ।