लेखा समितिका सभापति पोखरेल पनि मुछिए सहकारी ठगीमा
विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेल पनि सहकारी ठगीमा मुछिएका छन् । श्रीमतीसँग मिलेर मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा हिनामिना गरेको आरोप उनीमाथि लागेकाे हाे ।
सो सहकारीबाट १२ करोड रूपैयाँ हिनामिना भएको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी परेको छ । उक्त सहकारीमा उनकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य थिइन् । अञ्जला सञ्चालक भएकै बेला सहकारीमा रकम हिनामिना भएको हो ।
बिना धितो केही सञ्चालकले सहकारीको रकम हिनामिना गरेका हुन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार यही मुद्दामा एक पटक पक्राउसमेत परिसकेका छन् । तर, सर्वसाधरणले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । अञ्जला आफैं पनि सहकारीको कालोसूचीमा छिन् ।
सहकारीको कर्जा चुक्ता नगर्दा उनी कालोसूचीमा परेकी हुन् । यद्यपि, सो सहकारीमा अध्यक्षले अनियमितता गरेको र आफू देखावटी सञ्चालक मात्र भएको उनको दाबी छ । अञ्जला शिक्षकसमेत हुन् । सहकारीका अध्यक्ष रौनियार सांसद पोखरेलका साथी हुन् । सोही आधारमा अञ्जला सञ्चालक बनेकी थिइन् ।
सद पोखरेलले भने सो सहकारीमा भएको हिनामिनाबाट आफू पनि पीडित बनेको बताए । तर श्रीमती सञ्चालक भएकाले संस्थाको हिनामिनामा उनी तानिने प्रष्ट देखिन्छ ।
बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सो सहकारी हाल बन्द छ भने बचतकर्ताले आन्दोलनको तयारी गरेका छन्।
प्रतिक्रिया