नेपालमा पहिलो पटक भर्चुअल क्रेडिट कार्डको सुरूवात, के-के छन् सुविधा ?
काठमाडौं । सिटिजन्स बैंकले फोनपेसँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्डको सुरुवात घोषणा गरेको छ।
सिटिजन्स फोनपे क्रेडिट कार्ड, नेपालको आफ्नै कार्ड स्किम हो। यसले प्रयोगकर्तालाई सहज र सुरक्षित भुक्तानी प्रदान गर्दै, आफ्नो कारोबार सजिलै व्यवस्थापन गर्ने सुविधा दिने छ । सिटिजन्स बैंकका अनुसार सिटिजन्स फोनपे क्रेडिट कार्डले प्रयोगकर्तालाई तत्काल कार्ड जारी गर्न सक्ने, नयाँ सिटिजन्स फोनपे क्रेडिट कार्डबाट १४ लाख भन्दा बढी फोनपे मर्चेन्टहरूमा सजिलै स्क्यान गरेर भुक्तानी गर्न मिल्ने, आफ्नो मासिक बजेटमा रहेर वास्तविक समयमा आफ्ना खर्चहरू ट्र्याक गर्न सजिलो हुने तथा ग्राहकले चाहे अनुसार पूर्ण रकम वा न्यूनतम भुक्तानी गर्न सकिनेलगायतका विभिन्न सुविधाहरु दिने छ ।
त्यस्तै, विशेष योजनाअन्तर्गत सुरुवाती अवसरमा,सिटिजन्स बैंकले सिटिजन्स फोनपे क्रेडिट कार्डको प्रयोग गरेर भएका कारोबारहरूमा प्रति प्रयोगकर्ता ५० प्रतिशतसम्मको रकमको क्यासब्याक अफर दिने जनाएकाे छ । यो सीमित समयको अफर २०८१ भदौ २७ बाट सुरु हुने र सबै योग्य सिटिजन्स फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि उपलब्ध हुनेछ।
सिटिजन्स बैंकका सिइओ गणेश राज पोखरेलले फोनपे सँगको सहकार्यमा यो नयाँ क्रेडिट कार्डको सुरुवातलाई लिएर आफ्नो उत्साह व्यक्त गर्दै नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित भएको बताए ।
“हामी फोनपे सँगको साझेदारीमा नेपालकै पहिलो भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौं, जुन फोनपे मर्चेन्टहरूमा स्क्यान र पेमेन्ट गरी प्रयोग गर्न सकिन्छ। यो कदमले ग्राहकहरूको क्रेडिट र भुक्तानीको प्रक्रियालाई पूर्ण रूपमा परिवर्तन गर्नेछ। यो नविन समाधान हाम्रो अत्याधुनिक, ग्राहकमुखी वित्तीय सेवाहरु प्रदान गर्ने प्रतिबद्धताको प्रमाण हो ’ उनले भने, ‘आजको डिजिटल युगमा , वित्तीय कारोबारमा सजिलो, सुरक्षा, र लचकता महत्वपूर्ण भएको छ। सिटिजन्स बैंकमा हामी सधैं नयाँ सेवाहरु संचालनमा ल्याउने कार्यमा तल्लिन छौं, र यस्ता उपलब्धिले हामीलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्न मद्दत गरेको छ। हामीले यसै सेवा संगै डिजिटल परिवर्तनको यात्रामा निरन्तर अघि बढ्ने प्रतिबद्धता देखाएका छौँ, जसबाट हाम्रा ग्राहकहरूले सबैभन्दा उन्नत वित्तीय समाधानहरूको फाइदा लिन सकून।”
फोनपे का सिइओ दिवस कुमारले सो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो हुने बताउँदै सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास फोनपेले गरेको बताए ।
‘फोनपेमा, हामी ग्राहकहरूको अनुभवलाई अझ राम्रो बनाउन प्रतिबद्ध छौं र नेपालकै आफ्नै भर्चुअल क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा खुसी छौं। यो कार्डले ग्राहकहरूलाई डिजिटल भुक्तानीमा थप सजिलो अनुभव दिनेछ । नेपालमा क्रेडिट कार्डको प्रयोग २५ भन्दा कम भएको अवस्थामा, हाम्रो भर्चुअल क्रेडिट कार्डले यो कमी पूरा गर्दै स्थानीयदेखि ठूला व्यापारीहरू सम्मको नेटवर्कमा तुरुन्त पहुँच पुर्याएको छ । यो केवल नयाँ सेवाको सुरुवात नभई सम्पूर्ण नेपाली उपभोक्ताको बदलिँदो आवश्यकतालाई ध्यानमा राखेर लचक र अनुकूल समाधान सिर्जना गर्ने प्रयास हो। यसले उपभोक्ता र व्यवसाय दुवैलाई डिजिटल युगमा सशक्त बनाउन सहयोग पुर्याउँदै, थप समावेशी र अन्तर सम्बन्द वित्तीय प्रणाली निर्माण गर्ने लक्ष्य राखेको छ”। उनले भने ।
के हो फोनपे क्रेडिट कार्ड ?
यो कार्ड स्किम पूर्ण रूपमा डिजिटल कार्ड समाधान हो, जसले प्रयोगकर्ताहरूलाई आफ्नो क्रेडिट कार्ड कार्यक्षमतामा सजिलो, लचकता र नियन्त्रण प्रदान गर्छ।
यस कार्ड स्किमले फोनपे नेटवर्कमा क्यूआर भुक्तानी, अनलाइन वा इ(कमर्स भुक्तानीहरू, र सहज ई.एम.आई कन्भर्जन जस्ता सुविधाहरू दिन्छ। फोनपे क्रेडिट कार्डले ग्राहकहरूलाई आफ्नो मोबाइल बैंकिङ एपबाट केही सेकेन्डमै सजिलै कार्ड सुरू गर्न र प्रयोग गर्न सुविधा दिन्छ। यसमा ग्राहकले कार्ड व्यवस्थापन, लिमिट कन्ट्रोल, र स्टेटमेन्ट डेलिभरीजस्ता उन्नत सुविधाहरूको पूर्ण फाइदा लिन सक्छन्, जसले ग्राहकहरुलाई आफ्नो कार्डमा सम्पूर्ण नियन्त्रण दिएको छ ।
ताजा अपडेट
-
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
-
काठमाडौं उपत्यकासहित १० जिल्लामा फैलिँदै ‘बर्डफ्लु’, नियन्त्रण गर्न ‘द्रुत कार्य टोली’ परिचालन
-
गृहमन्त्रीमा सुधन गुरुङको कमब्याक
-
स्टार्टअप दर्ता र सञ्चालन सहज बनाउन सरकारले ल्यायो ‘स्टार्टअप फास्ट ट्र्याक’ कार्ययोजना
-
सुनको मूल्य ३ लाख माथि पुग्यो


प्रतिक्रिया