NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २६ गते

मुस्ताङमा ‘स्टिम’ र ‘साउना’ सञ्चालन

म्याग्दी । मुस्ताङको घरपझोङ गाउँपालिकाले ‘स्टिम’ (पानीको बाफबाट दिइने तातो) र ‘साउना’ (सुक्खा तातो बाफ) सञ्चालन गरेको छ । जोमसोम बजार नजिक घरपझोङ–३ स्याङखोलामा रु २८ लाखको लगानीमा प्राकृतिक उपचारका लागि स्टिम र साउना सञ्चालन गरेको हो ।

पानीको बाफयुक्त बन्द कोठाभित्र बसेर शरीरका खराब वस्तु (विकारण तत्व) फाल्न र शरीरलाई आनन्द प्रदान गर्न गरिने स्टिम बाथ, साउना र जाकुजीलाई आयुर्वेदिक उपचार पद्धति मानिन्छ । घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले चिसो मौसम र हावापानीले बिरामी भइरहने नागरिकको प्राकृतिक उपचारका लागि ‘स्टिम’ र ‘साउना’ सुरु गरिएको जानकारी दिए ।

“चिसोका कारण धेरै नागरिक बिरामी पर्ने गरेकाले शरीरलाई न्यानो, सरसफाइयुक्त राख्न र रोगबाट बचाउन स्टिम सहित छिट्टै साउना र जाकुजी पनि सञ्चालनको तयारी गरेका छौँ”, उनले भने, “गाउँपालिकाको सबै वडालाई केन्द्र पर्ने स्याङखोलामा सञ्चालन गरिएको साउनाबाट मुस्ताङमा आउने पर्यटक र तिर्थयात्रीहरुले पनि सेवा लिन सक्नेछन् ।”

स्टिम बाथ, साउना र जाकुजी सेवा सञ्चालनका लागि गत आर्थिक वर्षमा रु १३ लाख विनियोजन गरेको गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १५ लाख विनियोजन गरेको छ । निर्माणको अन्तिम चरणमा पुगेको भवनको एउटा कोठामा स्टिम बाथको उपकरण खरिद गरेर परिक्षण सेवा सुरु गरिएको अध्यक्ष लालचनले जानकारी दिए ।

घरपझोङ–३ का वडाध्यक्ष फलेन्द्रप्रसाद थकाली र सदस्य विरप्रसाद थकालीको रेखदेखमा परिक्षण सेवा सञ्चालन भइरहेको छ । गत साउनामा ६० वर्ष उमेर पुगेका २८ महिला र २२ जना पुरुषले सेवा लिइरहेका वडाध्यक्ष थकालीले जानकारी दिए । भवन निर्माण सकिएपछि जाकुजी र साउनालाई व्यवस्थित रुपमा नियमित सञ्चालन गरिने योजना रहेको उनले बताए।

महिलाहरुका लागि दिउँसो २ देखि ४ बजेसम्म र पुरुषहरुका लागि दिउँसो ४ः३० देखि ७ बजेसम्म साउनामा उपचार गर्ने समय तालिका बनाइएको थियो । एक पटक उपचार गरेको रु एक सय सेवा शुल्क तोकिएको छ ।

के हो स्टिम, साउना र जाकुजी ? 

‘स्टिम’ भनेको पानीको बाफबाट दिइने तातो हो भने ‘साउना’ सुक्खा तातो बाफ हो । यी दुवै विधिअन्तर्गत तापक्रम मिलाइएको कोठामा बस्दा शरीरबाट पसिना निस्कन थाल्छ । कुनै शारीरिक कसरत वा श्रम नगरी धेरै पसिना बग्छ । यसरी पसिना बग्दा शरीर स्वस्थ राख्न मद्दत पुग्ने घरपझोङ गाउँपालिकाकी स्वास्थ्य शाखाकी अनमी प्रकृति गुरूङले बताइन् ।

चिकित्सकको सल्लाह अनुसार स्टिम र साउना गराउन सकिने भन्दै उनले यसले शरीरमा रगत सञ्चालनमा फाइदा गर्ने उल्लेख गरिन् । “तातोले नसा खुलाउने काम गर्छ र मुटुरोगीका लागि फाइदा पुग्छ । शरीरमा भएका विकार हटाउँछ र छालाका प्वालहरु खोलेर फुर्तिलो बनाउँछ । शरीरमा टाँसिएको धुलोधुवाँका कण स्टिम र साउना लिँदा आउने तातोले पसिनाका माध्यमबाट बाहिर निकालिदिन्छ”, उनले भनिन्।

जाकुजी तातो पानीमा १० देखि १५ मिनेट बस्ने विधि रहेको बताउँदै यी सबै प्राकृतिक उपचार विधि भए पनि चिकित्सकको सल्लाह लिँदा बढी प्रभावकारी हुने अनमी गुरूङले बताइन् । “यसमा तातोपानीको फोहराले शरीर रक्तसञ्चार गराउनाका साथै आनन्द बनाउँछ । शरीरमा भएका विकारलाई हटाउँन, तनावबाट मुक्ति दिलाउँछ, छालामा जमेको फोहर निकालेर सफा बनाउन स्टिम र साउनाले मद्दत गर्दछ”, उनले भनिन् ।

स्टिम र साउनाले मोटोपना घटाउन, स्वस्थ रगत सञ्चालनमा मद्दत गर्छ । जोर्नीहरु कडा भएर हिँड्ड्ल गर्न गाह्रो हुनेलाई स्टिम र साउनाले जोर्नीहरु खुकुलो बनाउने गर्दछ ।

नियमित जिम जान वा व्यायाम गर्न नसक्ने वा नभ्याउने मानिसका लागि शरीर स्वस्थ राख्न स्टिम र साउना प्रभावकारी विकल्प हो । चिसो ठाउँ र जाडो मौसममा स्टिम र साउना बाथ लिनेहरु धेरै हुन्छन् ।

ताजा अपडेट

नेपालवाच विशेष