लेखा समितिका सभापति पोखरेलको पद धरापमा
विराटनगर । संसदको सार्वजनिक लेखा समितिका सभापति एवं नेकपा (एमाले) का नेता ऋषिकेश पोखरेलको पद धरापमा परेको छ । सहकारी ठगीमा मुछिएपछि सो पदमा बस्न उनलाई नैतिकताको हिसाबले समस्या भएको छ ।
श्रीमतीसँग मिलेर मोरङको धनपालथान गाउँपालिका–४, कर्सिया बजारमा रहेको उमागौरी कृषि सहकारी संस्थामा हिनामिना गरेको आरोप उनीमाथि लागेको छ । उनले बिहीबार बेलुकासम्म सो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन् ।
सो सहकारीबाट १२ करोड रूपैयाँ हिनामिना भएको भन्दै छानबिनका लागि विभिन्न निकायमा उजुरी परेको छ । उक्त सहकारीमा उनकी पत्नी अञ्जला कोइराला सञ्चालक समिति सदस्य थिइन् । अञ्जला सञ्चालक भएकै बेला सहकारीमा रकम हिनामिना भएको हो ।
बिना धितो केही सञ्चालकले सहकारीको रकम हिनामिना गरेका हुन् । सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार यही मुद्दामा एक पटक पक्राउ समेत परिसकेका छन् । तर, सर्वसाधरणले आफ्नो बचत फिर्ता पाउन सकेका छैनन् । अञ्जला आफैं पनि सहकारीको कालोसूचीमा छिन् । सहकारीको कर्जा चुक्ता नगर्दा उनी कालोसूचीमा परेकी हुन् । यद्यपि, सो सहकारीमा अध्यक्षले अनियमितता गरेको र आफू देखावटी सञ्चालक मात्र भएको उनको दाबी छ । अञ्जला शिक्षकसमेत हुन् । सहकारीका अध्यक्ष रौनियार सांसद पोखरेलका साथी हुन् । सोही आधारमा अञ्जला सञ्चालक बनेकी थिइन् । बचतकर्ताको पैसा फिर्ता गर्न नसकेपछि सो सहकारी हाल बन्द छ भने बचतकर्ताले आन्दोलनको तयारी गरेका छन्। घटना सार्वजनिक भएपछि सहकारीमाथि छानविनको दबाब बढीरहेको छ ।
संसदको लेखा समितिजस्तो अनियमिततामाथि छानविन गर्ने समितिमा बस्ने व्यक्तिमाथि नै गम्भीर प्रश्न उठेपछि पोखरलको पद पनि धरापमा परेको छ ।
प्रतिक्रिया