रवि लामिछानेमाथि कारबाहीको विषयमा दलहरूको आ–आफ्नो ब्याख्या
काठमाडौं । सहकारी ठगीसम्बन्धमा संसदीय बिशेष समितिले गरेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गरेको कारबाहीको सिफारिस उपर दलहरूले आ–आफ्नो ब्याख्या गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले ‘क्लिन चिट’ पाएको बताएका छन् भने कांग्रेसका नेताहरुले दोषी भएको बताएका छन् ।
समितिले सहकारीबाट गोर्खा मिडियामा पैसा ल्याउने भूमिकामा लामिछानेको संलग्नता देखाएको छैन । तर, खर्च गर्ने प्रक्रियामा लामिछाने संलग्न देखिएको र त्यसमा उनी पनि उत्तरदायी हुने भन्दै प्रचलित कानूनअनुसार कारबाहीको सिफारिस भएको छ । तर, कुन कानूनअनुसार भन्ने उल्लेख गरिएको छैन ।
सो प्रतिवेदनको रास्वपाले स्वागत गरेको छ । लामिछानले संसद भवनमा पत्रकारहरूसँग बोल्दै आफुलाई समितिले क्लिनचिट दिएको र गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमजोरीको जिम्मेवारी आफुले लिने बताएका छन् ।कम्पनीको एमडी भएकाले कर्मचारीलाई तलब आफूमार्फत् जाने भए पनि लगानीको स्रोत हेर्ने अधिकारी आफ्नो नभएको लामिछानेले स्पष्ट पारे। ‘त्यो (लगानी) ल्याउनमा मेरो भूमिका छैन भन्ने स्पष्ट भइहाल्यो । लगानीकर्ताले ल्याएको रकमको स्रोत हेर्ने अथोरिटी मलाई हुँदैन । लगानीकर्ताले कस्तो रकम ल्यायो, सहि थियो गलत थियो हेर्ने निकायहरु छन्,’ उनले भने।
सहकारीबाट पैसा निकाल्न कुनै भूमिका नभएको भन्ने प्रतिवेदनमा उल्लेख भएको आधारमा क्लिनचिटको ब्याख्या रास्वपाका नेताहरूले गरेका छन् ।
तर, कांग्रेसका नेता प्रकाशशरण महतले भने समितिले दोषि देखाएको भन्दै क्लिनचिट दियो भन्नु गलत भएको बताए ।


प्रतिक्रिया