NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

बस र मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीको मृत्यु

काठमाडौं । बस र मोटरसाइकलको ठक्करबाट दुई जनाको ज्यान गएको छ । मोटरसाइकलको ठक्करबाट झापा र बसको ठक्करबाट कैलालीमा १/१ जनाको मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको विर्तामोड नगरपालिका–६, कुमारी चोकस्थित प्र१–०१–०१३प २८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री विर्तामोड नगरपालिका–६ बुट्टाबारीका ६२ वर्षीय यामबहादुर लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार गएराति मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते लिम्बूलाई उपचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको थियो । त्यही उपचारका क्रममा उनको मृत्यु भएको हो ।

मोटरसाइकल चालक बुद्धशान्ति नगरपालिका–४ का ३२ वर्षीय विकास लिम्बूलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान गरिरहेको छ ।

उता, गौरीगङ्गा नगरपालिका–९, मसुरियामा सुपप्र ०१–००१ क २४६४ नम्बरको बसले ठक्कर दिँदा ८४ वर्षीय हर्कबहादुर बमको मृत्यु छ ।

सोमबार साँझ सडकमा बाटो काट्ने क्रममा बमलाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएका थिए । उनको धनगढीको निःसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

बस र चालक गौरीगङ्गा–९ का ४५ वर्षीय नारायणबहादुर भण्डारीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।