मलाई पक्राउ गर्न दशैं पर्खनु पर्दैन, झोला बोकेर हिँडेको छु : रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हजारौं सहकारीपीडितको समस्या छाडेर सरकार आफूलाई फसाउन लागेको आराेप लगाएका छन् । मंगलबार फेसबुक लाइभमार्फत सहकारी ठगीको आरोप लागेको विषयमा प्रष्टीकरण दिँदै उनले आफूलाई संगठित अपराध मुद्दामा फसाउन खोजेको आशंका व्यक्त गरे ।
सहकारी ठगीको विषयमा आफूलाई ससंदीय छानबिन समितिले निर्दाेष देखाएको तर सहकारीबाट आएको रकम खर्चबारे कारबाही गर्न भनेकाले त्यसअनुसार कारबाही भोग्न आफू तयार रहेको उनले बताए । तर, सहकारी ठगीमै जोडेर कारबाही गर्ने प्रयास गरिएकोमा उनले आपत्ति जनाए । आफूलाई पक्राउ गर्न सकिन्छ भनेरै ग्यालेक्सी टिभीका पूर्वसञ्चालक छविलाल जोशीलाई पक्राउ गरिएको उनको आशंका छ ।
दुई पटक गृहमन्त्री भइरहेको मान्छे भएकाले कानूनको पालनामा आफू सहयोग गर्न तयार रहेको र पक्राउसँग नडराएको बताए । कुनै पनि बेला पक्राउ पर्ने बुझेरै आफू झोला बोकेर हिँडेको उनले बताए । आफूमाथि राज्यबाट अन्याय भएमा प्रतिवाद गर्न उनले आह्वान गरे ।
ग्यालेक्सी टिभीका पूर्वसञ्चालक जोशी पक्राउ परेपछि लामिछाने पनि पक्राउ पर्ने आशंका गरिएको छ । सहकारी ठगीमा प्रत्यक्ष नदेखिएपछि संगठित अपराधमा जोडेर फसाउन लागिएको उनले पटक पटक दाेहाेर्याए । पक्राउ परेका जोशीविरुद्ध संगठित अपराध कसुरमा समेत म्याद थप भएको छ ।


प्रतिक्रिया