भारत र नेपालले तटबन्ध नगर्दा डुब्यो सुस्ता

नवलपरासी । भारत र नेपालले तार र ढुङ्गाले तटबन्ध नगरेका कारण जिल्लाको सुस्ता गाउँपालिका–५, नारायणीपारि सुस्तागाउँ डुबानमा पर्दै आएको छ । नेपाल र भारत दुवै देशले ध्यान नदिँदा सुस्ताबासीले बर्खामा बाढीको चपेटा खेप्नु परेको हो ।
सुस्तालाई नेपालबाट टुक्राउने भारतको नीतिगत योजना रहेकाले नेपालीलाई दुःख दिनकै लागि आफ्नो क्षेत्रमा तटबन्ध नबनाएको सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्यायले दाबी गरे । उनका अनुसार सुस्तालाई भारतले तीनतिरबाट घेरेको छ । भारतले आफ्नो क्षेत्रका नदीमा तटबन्ध नगर्दा बर्सेनि सुस्ता गाउँ डुबान पर्ने गरेको अध्यक्ष उपाध्यायले स्पष्ट पारे ।
अविरल वर्षा हुुँदा नरायणी नदीको पानी सुस्ता गाउँमा पसेपछि सुस्ता डुबानमा परेको हो । भारतले तटबन्ध गर्यो भने सुस्तामा बाढी नआउने अध्यक्ष उपाध्यायले बताए । सुस्ताको भूमिको विषयलाई लिएर बारम्बार भारतीय सुरक्षाकर्मीसँग विवाद हुने गरेको छ ।
बाढी तथा डुबानका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि चामल, गँहु, दाललगायत खाद्य सामग्री क्षति भएको स्थानीय अजाद खानले बताए । त्यस्तै बाढी तथा डुबानका कारण ४० प्रतिशत धानबाली नष्ट भएको मुनसी हरिजनले बताए । उनका अनुसार जबसम्म भारतले आफ्नोतर्फ तटबन्ध गर्दैन, तबसम्म सुस्तावासी बाढीबाट पीडित भइरहन्छन् ।
उनले भने, “नेपाल–भारत दुवैले आ–आफ्नोतर्फ तार र ढुङ्गाबाट तटबन्ध गर्न जरुरी छ ।”
सुस्ता गाउँमा बाढी पसेपछि दुई सय घर डुबानमा परेको थियो । नारायणीको बाढी सुरुमा थारू बस्तीमा पसेको सुुस्ता विओपीका सशस्त्र प्रहरी बल नेपालका निरीक्षक मानबहादुर खड्काले बताए । बाढीका कारण मानवीय र पशुचौपाया क्षति नभए पनि फुसको घर भत्किए बस्ने अवस्था नभएको सुस्ता गाउँपालिका–५ का वडाध्यक्ष प्रभुनाथ अहिरले बताए । उनका अनुसार सुस्तामा रहेका सशस्त्र र जनपथ प्रहरीको चौकीसमेत डुबानमा परेको थियो ।
सुस्ताका अधिकांश स्थान डुबानमा परेर त्यहाँका स्थानीयवासी आश्रयस्थलमा बास बसेका सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिए । फुसको घर भत्किएर अहिले पनि बस्ने अवस्था नभएको उनी बताउँछन् ।
सुस्ता गाउँपालिका–५ स्थित सुुस्तातर्फ नरायणीमा तारले तटबन्ध गर्नका लागि त्यहाँको स्थानीय तहसँग पहल भइरहेको पश्चिम नवलपरासीकी प्रमुख जिल्ला अधिकारी एवं विपद् व्यवस्थापन समितिकी अध्यक्ष स्किम श्रेष्ठले बताए । सरावल गाउँपालिका–५, ६ र ७ मा एक हजार दुई सय बिघामा लगाइएका धान बाली डुबानमा रहेका नवलपरासी कृषि ज्ञान केन्द्रका प्रमुख डा रवीन्द्रनाथ चौबेले बताए ।
ताजा अपडेट
-
गृह मन्त्रालयका सहसचिव भट्टराई नियन्त्रणमा
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा अख्तियारको छापा
-
अभिनेत्री वर्षा राउत सीजी मोटर्सको ब्रान्ड एन्डोर्सरमा नियुक्त
-
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनामाथि अख्तियारले चलायाे भ्रष्टाचार मुद्दा
-
गोरखामा बसको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु
प्रतिक्रिया