खाजामा कास्की जिल्ला प्रशासन आफैँ ठगिएपछि…
कास्की । जिल्ला प्रशासन कार्यालयहरूलाई बजार अनुगमन गर्ने र गैरकानुनी कार्य गर्नेलाई सजाय तथा जरिवाना गर्ने सक्ने अधिकार छ । उपभोक्ता ठगिन नदिनका लागि बेलाबेलामा प्रशासनले बजार अनुगमन गर्दै आएको छ ।
उपभोक्ताको अधिकार संरक्षणका लागि कार्य गर्ने नियामक निकाय कास्की प्रशासन आइतबार आफैँ ठगिन पुगेको छ । प्रशासनले शिक्षा विकास तथा समन्वय एकाइमा लागूऔषधसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, कर्मचारीलगायत ४० जनाको सहभागिता थियो ।
कास्कीको एक भोजनालयले जिल्ला प्रशासन कार्यालयलाई नै ठगेपछि दुई लाख रूपैयाँ जरिवाना गरिएको छ
सहभागीलाई खाजाका लागि पोखराको चिप्लेढुङ्गामा रहेको मारवाडी भोजनालयमा माग गरिएको थियो । तर माग गरिएको भन्दा निकै कम परिमाण र खाद्य पदार्थ आपूर्ति गरेर ठगी गरेपछि प्रशासनले सो सेवा भोजनालयलाई रु. दुई लाख जरिवाना गरेको छ ।
भोजनालयले मागबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसुर गरेको पाइएकाले कारबाही गरिएको सहायक प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले बताए ।
सो दफामा वस्तु तथा सेवाको वास्तविक गुणस्तर, परिणाम, मूल्य, नापतौल, ढाँचा वा बनावट आदि ढाँटी लुकाइछिपाइ वा झुक्याइ त्यस्तो वस्तु वा सेवा बिक्री वा प्रदान गर्ने, कुनै वस्तुको कृत्रिम अभाव सिर्जना गर्नेलगायत कार्य गरेकामा रु. दुई लाखदेखि रु. तीन लाखसम्म जरिवाना लाग्ने उल्लेख छ ।
“तोकिएको परिमाणभन्दा कम परिमाणमा खाजा ल्याउनुभयो । तोकिएका परिकारभन्दा निकै कम परिकार थिए, मूल्य तोकिएकै थियो । त्यसैले तत्कालै कारबाही गरेका हौं,” सहायक प्रजिअ क्षेत्रीले भने ।
प्रशासनका अनुसार सो भोजनालयका सम्बन्धमा यसअघि समेत उपभोक्ताबाट गुनासो आउने गरेका थिए ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया