सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने
चौतारा । सरकारले भारतबाट २० वटा बेलीब्रिज ल्याउने तयारी गरेको छ । हालैको बाढीपहिरोबाट क्षतिग्रस्त पुलहरुमा वैकल्पिक व्यवस्था गर्न भारतबाट बेलीब्रिज ल्याउने तयारी सरकारले गरेको हो ।
सिन्धुपाल्चोकमा हालैको बाढीबाट क्षति भएका भौतिक पूर्वाधारको निरीक्षण गर्न आएका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले उक्त जानकारी दिएका छन् । उनले तातोपानीमा चाँडो बेलीब्रिज ल्याउने तयारी भइरहेको बताए ।
सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिन सङ्घीय सरकारका तीन मन्त्री आज सदरमुकाम चौतारा आइपुगेका थिए । गृहमन्त्री रमेश लेखक, रक्षामन्त्री मानवीर राई र भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहितको उपस्थितिमा जिल्ला प्रशासन कार्यालयमा विपद्ले पु¥याएको क्षतिबारे छलफल भएको थियो ।
उनीहरु सुनकोशी नदीको बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने खुर्कोट पुल र बाढी प्रभावित खुर्कोट बजार अवलोकनपश्चात सिन्धुपाल्चोकको भोटेकोशी क्षेत्रको अवलोकन गरेर चौतारा आइपुगेका हुन् ।
मन्त्रीहरुले बाढीपहिरोबाट जिल्लामा भएको क्षति तथा सडक पूर्वाधार पुनःनिर्माण, उद्धार र राहत सम्बन्धमा स्थानीय जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुखलगायत स्थानीयवासीसँग छलफल गरेका थिए ।
सिन्धुपाल्चोकको वस्तुस्थिति बुझेपछि गृहमन्त्री लेखकले मित्रराष्ट्र चीन जोड्ने कोदारी राजमार्गस्थित लार्चा र लिपिङ खोलामा छिटो बेलीब्रिजको व्यवस्था गर्ने आश्वासन दिएका छन् । उनले प्रजिअ किरण थापालाई पहिरोपीडित लाभग्राहीको पहिचान गरी क्षतिको विवरण तत्काल पठाउन निर्देशन दिए ।
सिन्धुपाल्चोकमा बर्सेनि प्राकृतिक विपद्ले क्षति पु¥याउने गरेको छ । यसपटक मात्रै १० जनाको मृत्यु, दुई बेपत्ता र ठूलो परिमाणमा भौतिक क्षति भएको छ । यहाँबाट मन्त्रीहरू ललितपुरको गोटीखेल जाने कार्यक्रम रहेको जनाइको छ ।
ताजा अपडेट
-
नेपालले जित्यो एसियन गेम्स क्रिकेट छनोटको उपाधि
-
वीरगन्जका मेयर राजेशमान सिंहसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
-
चरम आर्थिक संकटमा उदयपुर सिमेन्ट उद्योग
-
विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन
-
‘इरानलाई आणविक हतियारबाट रोक्न कारबाही आवश्यक थियो’ : राष्ट्रपति ट्रम्प


प्रतिक्रिया