एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता
मान्म (कालीकोट) । यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।
चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए । “चालु आवको गाउँसभाबाट एकल पुरुषलाई भत्ता दिने निर्णय गरेको हो,” उनले भनिन्, “साउनदेखि असोजसम्मको सामाजिक सुरक्षा भत्ता दिइसकेका छौँ ।”
मापदण्ड भित्रका एकल पुरुष काम गर्न शारीरिक रुपमा कमजोर हुँदै जाने उमेर समूहका भएकाले उहाँहरुको सहाराका लागि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताए ।
“६० वर्ष उमेर पुगेपछि नागरिकले सरकारबाट सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था छ,” उनले भने, “त्यसभन्दा कम उमेरका एकल पुरुषलाई भत्ता दिन थालेका छौँ ।” गाउँपालिकाले ४९ वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका, ४९ वर्ष पुगेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ५९ वर्ष सम्मका पुरुषलाई मासिक भत्ता दिने गाउँपालिकाले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया