रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार अदालतमा उपस्थित गराइँदै छ ।
जिल्ला अदालत, कास्कीको अनुमतिमा शुक्रबार साँझ पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि समय थप गर्न अदालतमा उपस्थित गराउन लागिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले आइतबार अदालत खुलेपछि लामिछानेलाई अदालतमा उपस्थित गराइने जनाएको छ । लामिछानेलाई शुक्रबार पक्राउ गरेर लगत्तै सडक मार्ग हुँदै पोखरा ल्याइएको भए पनि शनिबार सार्वजनिक बिदा भएका कारण आइतबार अदालतमा उपस्थित गराउन लागिएको हो ।
पोखराको सूर्यदर्शन सहकारीका बचतकर्ताको रकम गोरखा मिडिया प्रालिमा लगानी लैजान प्रत्यक्ष संलग्न नभए पनि त्यहाँ पुगिसकेपछि त्यसलाई परिचालन गर्ने काममा संलग्न भएको आरोप रविमाथि छ । लामिछानेले भने सहकारीको रकम अपचलनमा संलग्न नहुँदा नहुँदै पनि सरकारले आफूमाथि राजनीतिक प्रतिशोध साधेको आरोप लगाएका छन् । सहकारीको रकम दुरूपयोगको अभियोगमा छविराज बञ्जाडे (जोशी) लगायत केही व्यक्ति पक्राउ परिसकेका छन् भने रविसहित ८ विरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी भएको छ ।
प्रतिक्रिया