राष्ट्रिय व्यथा : न जन्ती न मलामी

छिमेकीलाई वा नजिकका आफ्ना मानिसलाई तिमी त मेरा “ज्यूँदाको जन्ती, मर्दाको मलामी” हौँ भन्ने उक्ति नेपालको सबै भु–भागमा समान रुपमा प्रचलित छ । यथार्थमा हाम्रा पूर्वजले सामान्य भाषामा छिमेकी वा आफन्त वा आफ्नाको महत्वलाई बुझाउन स्थापित गरेको यस सरल उक्तिले संसारको ठुला ठुला सैद्धान्तिक दर्शनले व्याख्या गरेको जटिल र लामालामा व्याख्यालाई सरल रुपमा प्रस्ट्याई दिएको छ । अझ कुनै पनि मानिसको निधनका बेला कति संख्यामा मलामी उपस्थित हुन्छन् सोका आधारमा उक्त व्यक्तिको सामाजिक छविको मुल्यांकन समेत हुने गर्दथ्यो । अर्थात जो व्यक्तिले आफ्नो जीवनमा सामाजिक जीवन जियो, उसको निधनमा समाजले उपस्थित भएर सम्मान प्रकट गर्दथ्यो – मलामीका रुपमा । त्यसैले अर्काे भनाई पनि छ – व्यक्ति जन्मदा आफैँ रुन्छ र मर्दा अरु धेरै भन्दा धेरैलाई रुवाएर जान सकेमा जीवन सफल हुन्छ । अर्थात जसले धेरैको जीवनमा भुमिका खेल्छ उसको निधनको अवस्थामा सकभर मानिस उपस्थित भएर मलामीका रुपमा नै शोक प्रकट गर्दछन् नभए पनि भावनात्मक रुपमा शोक व्यक्त गर्दछन् भन्ने आशय यसमा निहित रहेको छ ।
तर पछिल्ला बर्षमा नेपालमा यस उक्तले स्पष्ट पारेको सन्देश फिका हुन थालेको स्पष्ट आभाष हुन्छ । अहिले नेपालका हरेक जिल्लाका अधिकांश गाउँहरु खालि हुन लागि सकेका छन् । बाँकी रहेका घरहरुका वरपर छिमेकीका घर खण्डहरमा परिणत हुँदै गरेका देखिन्छन् । यस्तो अवस्थामा छिमेकी नै नभएको गाउँमा विवाह हुँदा जन्ती जाने मानिसको अभाव हुनु र मर्दा शव उठाएर दाहसंस्कार गर्न लैजाने मलामी नै हुन छोडेको प्रशस्तै घटनाहरु देखिन थालेको छ ।
छिमेकीका घर भुत्याहा खण्डहर बन्दै
सामान्यतया नेपालका पहाडी ग्रामिण गाउँहरुमा रहने घरहरु एकअर्काको नजिक नजिक रहने गरि बनाइएको पाइन्छ । सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था अनुसार कतिपय गाउँमा घरहरु ५०–६० मिटर वरपर देखि कतिपय अवस्थामा जोडिएको झै रहने गरि ४–५ मिटरको दुरीमा बनाउने गरेको देखिन्छ । साथै गाउँको आकार अनुसार कतिपय ठुला गाउँमा २ सय देखि ३ सय घरधुरी सम्म भने कतिपय सानो गाउँमा १०–१५ घरधुरी देखि ४०–५० घरधुरी रहने गरेको संरचनात्मक अवस्थिति देखिन्छ । यसरी हेर्दा गाउँमा रहेका अधिकांश घरका परिवार सदस्य बसाईसराईँ गरि ती घरहरु खालि हुँदा ती घरले स्याहार पाउन छोडेका छन् । यस्तो अवस्थामा ती घर, धन्सार, गोठ आदी संरचना क्रमशः भत्कदै जर्जर हुन थालेपछि विभिन्न चलचित्रहरुमा देखाईने भुत्याहा संरचना जस्ता बन्न पुगेका छन् । यस्तो वातावरणमा कतिपय गाउँमा केही घर परिवार बाँकि रहेकाहरु पनि ती भुत्याहा झै लाग्ने संरचनाहरुको बीचमा बस्नै नसक्ने वातावरण सृृजना हुन थालेको र बाध्यात्मक हिसावले आफ्ना सबै संरचना त्यागेर बसाईसराईँ गर्नु पर्ने अवस्था सृजना भएको छ ।
कोरोको अवधिमा लगाइएको तीन महिने लकडाउका बेला काठमाण्डौँका बाटाहरुमा झार पलाउन र मानिस हिड्न छोडेकाले बाटोको एक प्रकारको विरानोपना आउन थालेको थियो । अनेकौँ गाउँमा बर्षौदेखि मानिसले त्यागेका घर तथा बारीहरु खण्डहरमा परिणत भएसँगै बारीमा बुट्यान, रुख तथा झाडि बनेकार निर्जन जस्तो बन्न थालेका छन् । यस्तो अवस्थामा गाउँमै बस्न चाहेका वा बाध्यात्मक अवस्थामा रहेकाहरु पनि आफ्नै थापथलो नचाहेर पनि त्याग्न बाध्य हुन थालेका छन् ।
जन्ती र मलामीको अभाव
यस लेखको थालनी नै यस विषयबाट गरिएको छ । अहिले त्यागिएका गाउँमा अझै पनि बसोबास गरिरहेकाहरुको संस्कारका बेला उपस्थित हुने बन्धुबान्धवहरुको संख्या भयानक डरलाग्दो अवस्थाबाट गिर्दाे छ । एउटा गाउँमा मात्र मानिस नबसेर रित्तिएको नभई वरपर र आफ्ना आफन्तजनका पूख्र्यौली गाउँमा समेत मानिसहरु नबसेपछि गाउँमै रहेकाहरुको मांगलिक र अन्त्यकर्ममा जम्मा हुनेहरुको उपस्थिति असाध्यै कम हुन थालेको देखिन्छ । भुक्तभोगीहरुले विवाहमा मुश्किलले २०–२२ जना जम्मा हुने अवस्था आएको र मलामी जानु पर्ने अवस्थामा त १०–१२ जनाले शवको दाहसंस्कार गर्नु परेको सुनाउँछन् । यसरी जम्मा हुनेहरुमा पनि युवा वा मध्य उमेरकाको संख्या लगभग शुन्य हुने र बृद्धहरुको संख्याले गर्दा ती कार्यहरुको रौनक र कार्यसम्पादन दयनीय हुने गरेको उनीहरुको भनाई छ ।
यस्तो भयावह अवस्था रहेकाले गाउँमा बसोबास गरेका व्यक्तिहरु बाटोमा हिड्दा हिड्दै रिंगटा लाग्यो वा सामान्य असहज भएर कुनै सामान्य खालकै सहयोगको आवश्यकता प¥यो भने पनि उक्त अवस्थामा मद्दत गर्ने व्यक्ति नै नहुने र सामान्य कारणबाट पनि ज्यानै जाने अवस्था आउने वातावरण रहेको छ । खण्डहर बन्दै गरेका घरहरुको बीचमा रहेका घरमा बसोबास गर्ने कोही व्यक्ति आफ्नै घरमा कुनै कारणवश उठ्न सकेन भने यो मानिस किन आज देखिएन भनेर सोधिखोजी गर्ने कोही छैन् । मानिस सामान्य कारणबाट पनि आफ्नै घरमा मर्न सक्ने अवस्था मात्र होइन शव नै कुहिएपछि मात्र अरुले थाहा पाउने खतरापूर्ण वातावरण अहिले गाउँघरमा देखा परेको छ । विरामी हुँदा स्वास्थ्यचौकी वा अस्पताल लैजान समयमा एम्बुलेन्स बोलाइदिने र एम्बुलेस पुग्ने स्थानसम्म बोकेर लैजाने मानिस गाउँमा छैन् ।
देवकार्य र विवाह, व्रतबन्ध जस्ता संस्कारीकार्यमा कोहीले राम्रो गरि सम्पन्न गर्छु भन्यो भने पनि गाउँमा उपस्थित भएर भोज खाने मानिस समेत नहुने सोच्नै नसक्ने निराशाजनक अवस्था नेपालका अधिकांश पहाडी गाउँघरमा छ । भोज भतेरमा आवश्यक पर्ने खाद्यान्न तथा सामग्रीहरु स्थानीय तवरमा पाइने गरेकोमा हाल त्यहाँको वरपर रहेका बजार वा सदरमुकाम वा क्षेत्रीय शहरहरुबाट नै लैजानु पर्ने अवस्था छ । स्थानीय तहमा उत्पादन कोहीले पनि गर्नै छोडेका छन् । उत्पादन ग¥यो भने पनि कुहीएर जाने अवस्था छ ।
रित्तो गाउँ, शहरबाट गाउँ गई जनप्रतिनिधी बन्दै
गाउँघरमा बसोबास गर्नेको संख्या घट्दै त गएको छ नै युवा लगभग छैनन् । यस्तो अवस्थामा सम्बन्धित गाउँमा राजनीति गर्ने युवा नहुनु स्वभाविक भइ नै हाल्यो । त्यसैले ती गाउँको राजनीतिमा सम्बन्धित गाउँबाट शहर आएर बसोबास गरेका र विभिन्न तवरबाट छिट्टै पैसा कमाएकाहरु राजनीतिमा संलग्न हुने क्रम देखिन थालेको छ । त्यस्ता खालका व्यक्तिहरु लगभग सबै राजनीतिक दलमा छन् । राजनीतिक दलहरुलाई पनि आफ्नो उपस्थिति देखाउन कुनै न कुनै पात्र आवश्यक पर्ने र ती पात्रहरु आर्थिक हिसाव तथा स्रोत परिचालनका हिसावले सक्ने खालका हुने भएकाले गाउँमै रहेका कमजोर पृष्ठभूमिका युवा भन्दा शहरका त्यस्ता खालका युवालाई दलहरुले अघि सार्ने गरेका छन् ।
र तीनै प्रवृत्तिका पात्रहरुले जनप्रतिनिधीमा पनि जित्ने र अधिकांश समय शहरमा विताउने तथा महिनाको केही दिन गाउँपालिका वा नगरपालिकाको वडामा रहने गर्ने गरेका छन् । अधिकांश गाउँपालिका वा नगरपालिकाका निर्वाचित प्रतिनिधिहरुका परिवार उनीहरु सक्रिय क्षेत्रमा छैनन् । काठमाण्डौँ, पोखरा, चितवन, विराटनगर, धनगढी, बुटवल, इटहरी जस्ता शहरमा छन् । अझ त त्यस्ता जनप्रतिनिधीहरुको हुर्के सकेका छोराछोरी स्वदेश अर्थात नेपालमा नै छैनन्, विदेशमा छन् ।
त्यसैले अहिले नेपालका गाउँघरको राजनीति “पर्यटक राजनीति” का रुपमा परिणत भएको छ । नेपालको निर्वाचन प्रणालीले जतिसुकनै संख्यामा मत खसेपछि बहुमत प्राप्त गर्ने उम्मेदवारले जीत्ने व्यवस्था भएकाले स्थानीय तहमा घट्ने जनसंख्याले स्थानीय रुपमा राजनीति गर्नेहरुलाई खासै फरक नपर्ने अवस्था छ । अर्थात मानौँ १० हजार मतदाता रहेको नगरपालिकाको मेयर पनि मेयर नै हो भने एक लाख मतदाता रहेको नगरपालिकाको मेयर पनि मेयर नै हो । यस्तो अवस्थाले गर्दा आफ्नो क्षेत्रमा ह्वात्तै घट्न थालेको जनसंख्या वा बढेको बसाईँसराईँ प्रति त्यहाँ कार्यरत जनप्रति पटक्कै संवेदनशिल छैनन् । र उनीहरुले आफ्नो राजनीतिक कार्यक्षेत्रबाट बसाईसराईँ रोक्न कुनै पनि प्रयास गर्ने गरेका छैनन् । अझ एक प्रतिनिधीले त यो लेखकसँग लाजै पचाएर एक सन्दर्भमा भनेका थिए – धेरै मानिस भए धेरैकोमा धाएर कन्भिन्स गर्नुपर्ने थोरै मानिसहरु भए थोरैकोमा पुग्यो, उनीहरुलाई आकर्षित गर्ने प्याकेज लैजान पनि सजिलो, कम खर्चले पुग्ने, हा… त्यसैले जनसंख्या धेरै भएको भन्दा कम नै भएको ठीक छ क्या ।
यस्तो खाले राजनीतिक मानसिकतासहितको स्थानीय तहको अभ्यासले रित्तिदैँ गएको गाउँघरमा, स्थानीयलाई आफ्नै स्थानमा अवसर सृजना गरि बसोबास कायम राख्न भूमिका खेल्ने देखिँदैन् । लामो समय रिक्त रही पुनः लयमा फर्किएको स्थानीय तहको प्रशासन तथा जनप्रतिनिधी प्रणालीले सात बर्ष गुर्जादा समेत गाउँघरमा स्थानीय बसोबास गर्नै नचाहने अवस्था रोकिन सकेको छैन् । यसले स्पष्ट पार्दछ कि आगामी दिनमा यस्तो खाले राजनीतिक सक्रियता वा सोच र अभ्यासले देशका गाउँघर त्यागेर बसाईँसराईँ गर्ने क्रमलाई रोक्न त परै जाओस कम गर्न पनि कुनै भूमिका खेल्न सक्ने देखिँदैन् ।
बाँदर र जंगली जनावरको वासस्थान बन्दै गाउँ
मानिसको बाक्लो उपस्थिति र चहल पहलले जनावर र मानिसको बीच स्वाभाविक सीमा कोरिदिएको थियो । आक्कल झुक्कल गाउँ पस्ने बाहेक नियमित रुपमा जंगली जनावर मानिसको घनावस्ति बीचको गाउँघरमा आउने गर्दैनथे । तर आजभोली बाक्ला गाउँमा समेत बढिमा ८–१० घर परिवार मात्र बस्ने अवस्थाले गाउँमा जंगली जनावरको उपस्थिति बाक्लिन थालेको छ । देशका पहाडी भेगमा अधिकांश गाउँमा बाँदरले हैरानी बनाउन थालेका छन् । बाँदर धपाउने मानिस नहुँदा उनीहरु फुक्काफाल घरघरका धुरीमा हिड्छन् । अझ बाँदरले केटाकेटी, महिला र बुढाबढीलाई टेर्दै टेर्दैन । युवासँग डराउने बाँदर गाउँमा युवा नै नभएपछि कोहीसँग पनि डराउनु पर्ने अवस्था नै छैन् । त्यसैले गाउँघरमा आजभोली बाँदरको अड्डा हुन थालेको छ ।
साथै बनकुखुरा, बदेँल, चितुवा, कालिज, मृगले पहाडी गाउँमा आफ्नो डेरा निर्धक्क जमाउन थालेका छन् । यत्ति मात्र होइन खासगरी हिमाली भेगमा मात्र देखिने भालु आजभोली तल्लो बेसितिर र हिमाली भेग भन्दा तल पहाडी भेगमा देखिन थालेको गाउँलेहरुले बताउन थालेका छन् । जंगली जनावरहरुको गतिबिधी बढ्दै जाँदा दिउँसै मानिस हिड्डुल गर्न नसक्ने अवस्था हुन थालेको छ । यदि कुनै पनि जंगली जनावर देखिएमा वा जनावरले आक्रमण गर्न खोजेमा गुहार पाउने अवस्था नै नरहेको देखिन्छ । आक्रमण गरेको खण्डमा त ज्यान गुमाउनु बाहेक अरु कुनै अवस्था देखिँदैन् । पहिला पहिला बर्षदिनमा एक दुई पटक गाउँका कुनै कुनै घरमा आएर बाख्रा तथा वहर, वाच्छा, कुकुर लैजाने चितुवा आजभोली दिउँसै गाउँ डुल्ने गर्न थालेका छन् । गाउँमा बसिरहेका परिवारका सदस्यहरु राति दिसापिसाव गर्न घरको बाहिरपछि तर नजिकै रहेको शौचालय जान समेत डराउनु पर्ने अवस्था आएको छ ।
जनावरको अतिक्रमणले अलिअलि बचेका गाउँवासीले लगाएका अन्नबाली संरक्षण गर्न हम्मेहम्मे हुन थालेको छ । यसको नतिजा स्वरुप गाउँमै किसानीका आधारमा रहेका परिवार समेत बाध्य भई शहरी वा तराई क्षेत्रमा बसाईँ सरेका दृष्टान्त देखिन थालेका छन् । यस्तो अवस्थाले गाउँका जमिन बाँझो बन्ने र ती बाँझा जमिनमा जंगल बढ्ने र जंगलमा रहने जनावर फैलन स्वाभाविक चक्र बनेको छ । खासमा भन्ने हो भने अहिले पहाडी भेगमा कतिपय गाउँघरका आँगन तथा पिंढी पनि झाडि जंगलमा परिणत भइसकेका छन् । किसानी पेशमा आवद्ध भइआएका परिवारहरुसमेतले गाउँ छोड्न थालेपछि राम्रा भनिएका अर्थात बर्षदिनमा तीन बाली हुने खालका खेतहरु समेत बाँझो हुने अवस्था आएको छ । भेलपानी छोपेर खेति गरिने खेतबारी त पतेनीमा रुपान्तरित भएका छन् भने मद्यम खालका खेत जंगल भएका छन् । ती खेतबारीमा जाने बाटोमा झाडी बढेर मानिस जानै नसक्ने अवस्था देखिन्छ ।
शहरको व्यथा पनि गाउँ झै
झट्ट हेर्दा गाउँ रित्तो तर शहरमा भने चहलपहल भएको जस्तो देखिन्छ । तर शहर भित्र पनि भित्रभित्रै घरघरमा गाउँको अवस्था झै निराशा नै छ । खालि देशका विभिन्न भु–भागबाट आएका आन्तरिक आप्रवासीले गर्दा काठमाण्डौँ उपत्यकाका शहर र देशका अन्य ठुला साना शहर चलायमान देखिएका हुन् । ती घरमा आन्तरिक आप्रवासीले भाडामा फ्ल्याट वा कोठा लिएर बसिदिएकाले चहल पहल विद्यमान रहेको हो । तर ती बहुतल घरका अधिकांश मालिकहरुको परिवारमा पनि गाउँघरको अवस्था झै रित्तो र खालिपनाको अवस्था छ । शहर केवल भौतिक रुपमा चलायमान जस्तो देखिन्छ तर मानसिक रुपमा घर घरमा शुन्यताको अवस्था छ ।
शहरका अधिकांश घरधनीका परिवारमा केवल बुढाबुढी मात्र छन्, छोराछोरी तथा नातिनातिना अमेरिका, अष्ट्रेलिया, क्यानडा, बेलायत जस्ता पाश्चात्य देशमा छन् । आजभोली पछिल्ला बर्षहरुमा जसरी दशैँ तिहार जस्ता राष्ट्रिय चाड मनाउन शहरमा बसेका छोराबुहारी, नातिनातिना आफ्ना गाउँमा नगएर गाउँघरमा अरु बेला बस्दै आएका आमाबा शहरमा आएझै शहरबाट आमाबा विदेशमा रहेका छोराबुहारी, नातिनातिनाकोमा जाने गरेको देखिन्छ । शहरमा बसोबास गर्दै आएका बुढाबुढी दम्पत्तिलाई विरामी पर्दा वा आपतका बेला तत्काल अस्पताल लैजाने वातावरण भित्र भित्र छैन् । भौतिक र वित्तिय हिसावले गाउँघरमा बसोबास गरिरहेका बुढा आमाबा भन्दा शहरमा बसोबास गरिरहेका आमाबा बलिया देखिए पनि शहरमा पनि आपतमा एम्बुलेन्स बोलाएर समयमा अस्पताल पुग्न नसकेर मृत्युवरण गर्ने धेरै आमाबा छन् । अस्पताल पु¥याए पनि अस्पतालमा प्रत्यक्ष रुपमा साथमा रहने कोही छैनन् । प्रविधिले ल्याइदिएको सुगमताका कारण क्षणक्षणमा भर्चुअल माध्यमबाट छोराछोरी, बुहारी, नातिनातिनाले हालखवर त सोध्लान तर हात समाएर सहारा दिने शहरमा पनि कोही छैन् । शहरमा विवाहमा भोज खान (पार्टीमा) सरिक हुनेको संख्या गाउँको भन्दा बढि छ । साथै मलामी जानेको संख्या पनि गाउँको भन्दा थोरै बढि होला । तर गाउँको र शहरको साझा व्यथा उही छ । र यो व्यथा राष्ट्रिय व्यथा बनेको छ । तर यो प्रति संवेदनशिल बनि दिने को ?
(पत्रकारसमेत रहीसकेका लेखक पन्त, ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् ।)
प्रतिक्रिया