चार प्रदेशमा आज पनि हल्कादेखि मध्यम वर्षा
काठमाडौं । चार प्रदेशमा आज पनि हल्कादेखि मध्यम वर्षा हुने प्रक्षेपण गरिएको छ । वर्षाको सम्भावना रहेकाले कृषिलगायतका कार्यमा सचेत रहन मौसमविद्ले सुझाएका छन् ।
मौसम पूर्वानुमान महाशाखाले दैनिक मौसमी बुलेटिन सार्वजनिक गर्दै मंगलबार देशका चार प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने आकलन गरेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यी प्रदेशका केही स्थानमा सोमबार पनि हल्कादेखि मध्यम वर्षा भएका थिए ।
वर्षाको क्रम रातिको समयमा पनि यथावत् रहने जनाइएको छ । महाशाखाका अनुसार दुई प्रदेश बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा राति मेघ गर्जनसहित हल्का वर्षा हुने योग छ ।
चार प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने जनाउँदै महाशाखाले कृषि, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यात्राका क्रममा यसले क्षणिक असर गर्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
केही दिनयता देशभरको मौसममा पश्चिमी र स्थानीय वायुको प्रभाव देखिएको छ । यही वायुको प्रभावका कारण मौसममा बदलाव आउँदा देशका कतिपय स्थानमा वर्षा भएको छ भने केही स्थान धुम्मिन पुगेको छ । धान भित्राउने समयमा पानी परेकाले किसानले प्रतिकुलताको सामना गरिरहेका छन् ।
पहाडी क्षेत्रमा वर्षा हुँदा हिमाली क्षेत्रमा भने हिमपात हुने सम्भावना छ । मौसमविदहरूका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हिमपात हुने खतरा छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया