रिपब्लिकन पार्टीलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ छ : ट्रम्प

एजेन्सी । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भिडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताएका छन् ।
“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भने । सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उनले आफ्नी श्रीमति मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिए ।
उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् । तपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्।
समाचार तयार पार्दासम्म ट्रम्पले छ करोड ८८ लाख ७७ हजार २९३ मत प्राप्त गर्नुभएको छ भने ह्यारिसले छ करोड ३६ लाख १३ हजार ९५१ मत प्राप्त गरेका छन् । नेपाली समय अनुसार बुधबार मध्यान्नसम्ममा रिपब्लिकन नेता ट्रम्पले मङ्गलबार खसेको कुल मतको ५१.१ प्रतिशतभन्दा बढी मत प्राप्त गरेका छन् भने डेमोक्र्याटिक पाटीका तर्फबाट उम्मेदवार भएकी उपराष्ट्रपति कमला ह्यारिसले ४७.२ प्रतिशत मत प्राप्त गरेकी छन् ।
रिपब्लिकन नेता ट्रम्पले २६६ इलेक्टोरल मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी ह्यारिसले २१९ इलेक्टोरल मत प्राप्त गरेका छन् । यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र चार इलेक्टोरल मतको आवश्यक हुनेछ । अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सीट प्राप्त हुने जनाएको छ ।
प्रतिक्रिया