पूर्णबहादुरको सारंगीमाथि कथा चोरीको गम्भीर आरोप
काठमाडौं । करुण रसमा आधारित फिल्म पूर्णबहादुरको सारंगी अहिले चर्चामा छ । सुरुमा हलहरूमा सामान्य शो पाएको पूर्णबहादुरको सारंगीले ‘वर्ड अफ माउथ’का कारण अहिले राम्रो दर्शक बटुलिरहेको छ । प्रारम्भमा कम आकिएको चलचित्रले विभिन्न कीर्तिमानहरू बनाउन थालेको छ ।
दर्शकको रोजाइमा परेको यो फिल्म ब्लक बस्टर बने पनि समालोचनात्मक ढंगले प्रस्तुत नगरिएको भन्दै आलोचना भइरहेका छन् । पञ्चायत र राजतन्त्रविरुद्ध भएका राजनीतिक आन्दोलनका नकारात्मक पाटो नभएका होइनन् तर यसको विशिष्ट योगदान नजरअन्दाज गर्न मिल्दैन । तर यो आन्दोलनलाई गलत ढंगले प्रस्तुत गरेको फिल्मले पिँधमा रहेका गन्धर्व समुदायका दैनिकी, गरिबीको चपेटामा परेका तिनको बाध्यतालाई भने चोटिलो ढंगले प्रस्तुत गरेको छ । फिल्मको सबैभन्दा सबल पक्षचाहिँ सबैजसो कलाकारको जीवन्त अभिनय हो ।
विजय बराल अभिनित फिल्मले राम्रो चर्चा बटुलिरहेका बेला यसमाथि कथा चोरीको अनपेक्षित आरोप लागेको छ । राजनीतिक कथावस्तुमा आधारित उपन्यास सङ्ग्रामपुरका लेखक डा. शिवशंकर बस्यालले पूर्णबहादुरको सारंगीको मूल कथावस्तु नै आफ्नो उपन्यासबाट लिइएको दाबी गरेका हुन् ।
बस्यालका अनुसार पूर्णबहादुरको सारंगीले उनको उपन्यासका पात्र रूपमान र समीरलाई पूर्णबहादुर र कमल मूलपात्रका रूपमा उतारेको छ । संग्रामपुरमा जस्तै पत्नी वियोगको रहस्यमयी प्रसंग पनि उसैगरी फिल्ममा समेटिएको सर्जन बस्यालको जिकिर छ ।
यति मात्र नभएर छोराको पालनपोषणमा दिलोज्यान दिई लाग्ने पूर्णबहादुरको शैली उनको उपन्यासको मूल पात्र रूपमानसँग ठ्याक्कै मिल्दो रहेको छ ।
यसबाहेक विद्यालयले कमललाई गर्ने व्यवहार, एसएलसीमा प्राप्त गरेको सफलता, त्यसपछि अध्ययन गरिएको विषय र बाबुहरूले खेलेको भूमिका पनि दुवैमा मिल्दो जुल्दो रहेको लेखक बस्यालको भनाइ छ ।
पूर्णबहादुरको सारंगीको कथावस्तु आफ्नो फिल्मसँग मिल्नुलाई उनले संयोग मात्र मान्न नसकिने बताएका छन् । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्तिविरोधी कार्यमा लगाउने प्रपञ्च गरिएको आरोप पनि उपन्यासकार बस्यालले लगाएका छन् ।
‘यो संयोग होइन, नियोजित हो । एउटा क्रान्तिकारी उपन्यासलाई क्रान्ति विरोधी कार्यमा लगाउने प्रपञ्च,’ पूर्णबहादुरको सारंगीमाथि आरोप लगाउँदै बस्यालले लेखेका छन् । कुनै लोभलालच र प्रपञ्चले नभई स्रष्टाको जन्मदाताको हैसियतले बोलेको उनले बताए ।
फिल्ममाथि कथाचोरीको आरोप लागे पनि निर्माण पक्षले भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
ताजा अपडेट
-
जापानमा यो वर्ष सामान्य भन्दा तापक्रम बढी
-
मन्त्री भण्डारी र भारतीय समकक्षी गोयलबीच व्यापार सहजिकरणका लागि छलफल
-
आज पनि बढ्यो नेप्से, यी कम्पनीको मूल्यमा सकारात्मक सर्किट
-
प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता
-
नेपाल र चीनबीच पारस्परिक सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर
प्रतिक्रिया