NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ५ गते

रवि लामिछानेलाई आज बुटवल लगिँदै

काठमाडौं । सहकारी ठगी प्रकरणको छानबिनका लागि पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बुटवल लैजाने तयारी गरिएको छ ।

बुटवलस्थित सुप्रिम सहकारीको रकम गोरखा मिडिया प्रालिमा गएको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मंगलबार बिहान हवाई मार्ग हुँदै त्यसतर्फ लैजाने तयारी गरेको हो ।

उनलाई बिहानै विमानस्थल लगिए पनि बाक्लो हुस्सुका कारण उडान प्रभावित भएको छ ।

प्रहरी स्रोतका अनुसार, बुटवलमा बयान लिएर उनलाई आजै पोखरा फर्काउने तयारी छ ।

सुप्रिम सहकारीको रकम हिनामिना प्रकरणमा छानबिन गर्न जिल्ला अदालत, रूपन्देहीबाट यसअघि नै लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ ।

सूर्य थापा संयोजकत्वको सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउन तत्कालीन प्रबन्ध निर्देशक लामिछानेको कुनै संलग्नता नभए पनि उक्त रकम खर्च गर्न जिम्मेवार रहेको प्रतिवेदन दिएको थियो । त्यसको केही समयपछि अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा यही कात्तिक २ गते लामिछाने काठमाडौंबाट पक्राउ परेका थिए । उनीमाथि छानबिनका लागि प्रहरीको मागअनुसार पटक–पटक कास्की अदालतबाट म्याद थप गरिएकोमा पछिल्लो पटक १३ दिनको समय दिइएको छ ।

रास्वपाले भने सहकारी ठगीमा कुनै संलग्नता नहुँदा नहुँदै पनि आफ्ना सभापतिलाई हिरासतमा राखेर राजनीतिक प्रतिशोध साधिएको आरोप लगाउँदै आएको छ । यही जिरह गर्दै पोखरा, काठमाडौंलगायत देशका विभिन्न भागमा रास्वपाले प्रदर्शन गर्दै आइरहेको छ । मंगलबार लामिछानेलाई बुटवल लैजाने सूचना पाएपछि रास्वपाले त्यहाँ पनि प्रदर्शनको तयारी गरेको छ । रास्वपाले हिरासतमा रहेका पार्टी सभापतिको पक्षमा प्रदर्शन गर्ने भएपछि प्रहरीले बुटवलको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारेको छ ।