बेँसी झर्न थाले भेडा
लमजुङ । चरनका लागि लेक तथा हिमाली भेग पुगेका भेडाका बथान लेकबाट बेँसी झर्न थालेका छन् ।
चिसो मौसम सुरु भएसँगै चरनमा समस्या आउन थालेपछि जिल्लाका घुम्ती गोठका गोठालाले आ–आफ्ना भेडाका बथान यतिबेला बेँसी झार्न थालेका छन् ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, लमजुङका निमित्त कार्यालय प्रमुख डा सुनिल न्यौपानेका अनुसार जिल्लामा साना ठूला गरेर तीन सयभन्दा बढी घुम्ती भेडीगोठ रहेका छन् ।
ती सबै लेकबाट बेँसी झर्न थालेका छन् । सिउरुङ, घलेगाउँ, भुजुङ, पसगाउँ, सिङ्दी, घनपोखरा, इलमपोखरी, दूधपोखरी, पाचोक, बन्सार, फलेनी, ढोडेनी, ताघ्रिङ, भुलभुलेलगायतका ग्रामीण क्षेत्रमा भेडीगोठ रहेका छन् ।
गर्मीयाममा भेडाबाख्रा लेकतर्फ लैजाने गरेकामा चिसो मौसम सुरु भएसँगै बेँसीतर्फ पुनः फर्किएको भेडीगोठाला कमल अधिकारीले बताए । उनले भने, “गर्मीयाममा ६ महिना लेक र चिसोयामको ६ महिना बेँसीमा भेडीगोठ राख्ने गर्दछौँ । बेँसीमा झारिएका भेडाबाख्राका बथानको मल यहाँका खेतबारीमा प्रयोग हुने गरेको छ ।”
क्व्होलासोथार गाउँपालिका–३, घलेगाउँका दीर्घराज घलेले गाउँका दुई वडाका भेडीगोठ रहेका र चिसो हुन थालेसँगै लेकबाट घलेगाउँतर्फ ल्याउन लागेको बताए ।
त्यस्तै, कास्कीको सिमाना डाँडा तिङ्जेमा रहेको पसगाउँको भेडीगोठ यतिबेला क्युबे–ल्हेदे हुँदै गाउँतर्फ फर्किन थालेको स्थानीयको भनाइ छ । जिल्लाको उत्तरी ताघ्रिङ्का भेडीगोठ यसअघि थुर्जुलेक पुगेकामा अहिले ठूलागी आइपुगेको र केही हप्तापछि गाउँमै ल्याइने छ ।
विशेष गरी गुरुङ समुदायको पुर्खौँली चलन तथा पेसाको रुपमा भेडिगोठलाई लिइन्छ । लमजुङका भेडीगोठ लमजुङ, मनाङ र कास्कीको सिमाना दूध पोखरीनजिकै थुर्जु तथा लमजुङ हिमालको काखलगायतका ठाउँसम्म लैजाने गरिन्छ । पसगाउँको भेडीगोठ लमजुङ र कास्कीको सिमाना डाँडा तिङ्जेमा पुग्ने गर्दछ । उत्तरी लमजुङको ताघ्रिङका बासिन्दाको भेडीगोठ लके थुर्जु पुग्ने गरेको छ ।
बेँसीमा रहेको बेलामा भेडीगोठबाट निस्किएको मल खेतबारीमा प्रयोग गर्ने गरिन्छ भने, भेडाको ऊन निकालेर राडीपाखी, बख्खुलगायत सामग्री बनाउन प्रयोग हुने गर्छ । जिल्लाभर २३ हजार भेडाबाख्रा रहेको तथ्याङ्क छ । वार्षिक १० हजार किलो ऊन उत्पादन हुने गरेको छ । ऊनको प्रतिकिलो रु तीन सयमा बिक्री हुने गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया