NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार २० गते

रवि लामिछानेलाई आज कास्की अदालतमा उपस्थित गराइँदै

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि  पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइँदै छ ।

लामिछानेमाथिको अनुसन्धानका लागि कास्की अदालतले यसअघि कात्तिक २५ गते १३ दिनको समय दिएको थियो । उक्त समय सकिएपछि प्रहरीले आज पुनः म्याद थपका लागि लामिछानेलाई अदालतमा पेश गर्न लागेको हो ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले लामिछानेमाथि अनुसन्धान गर्न समय अपुग भएकाले थप समय माग गर्दै आइतबार अदालतमा लैजान लागिएको जनाएको छ । रास्वपाले भने बयानमा आलटाल गरेर लामिछानेलाई लामो समय हिरासतमा राख्ने प्रपञ्च रचिएको दाबी गर्दै आएको छ । अदालतमा लामिछाने स्वयं र उनका वकिलहरूले यसअघि पटक पटक यस्तो जिकिर गरे पनि अदालतले अहिलेसम्म प्रहरीबाट माग भएबमोजिम म्याद उपलब्ध गराउँदै आइरहेको छ ।

प्रतिनिधिसभाको संसदीय छानबिन समितिले पोखराको सूर्यदर्शनलगायत सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउनेमा जीबी राई मुख्य जिम्मेवार रहे पनि त्यहाँ गइसकेपछि खर्च गर्नेमा रवि र छविलाल जोशी संलग्न रहेको भन्दै कारबाही सिफारिस गरेको थियो । समितिको सिफारिस लगत्तै अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा रवि र छवि पक्राउ परिसकेका छन् भने जिबी फरार छन् ।

रविविरुद्ध देशका अन्य भागका सहकारी ठगीको अनुसन्धानका लागि पनि पक्राउ पुर्जी जारी भएको छ । त्यस्तै, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दामा पनि रविमाथि अनुसन्धान चलिरहेको छ ।

रास्वपाले भने सहकारी ठगीमा आफ्ना पार्टी सभापतिको कुनै संलग्नता नभए पनि राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको जनाउँदै आएको छ । रवि पक्राउपछि उसले यसविरुद्ध केही समय सडकमा प्रदर्शनसमेत गरेको थियो ।