रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि नेपाल प्रहरीको पोखरास्थित हिरासतमा रहेका गोरखा मिडिया प्रालिका पूर्वप्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मंगलबार काठमाडौं ल्याइने भएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी बचत सहकारी लिमिटेडका बचतकर्ताको रकम हिनामिना प्रकरणमा अनुसन्धानका लागि मंगलबार लामिछानेलाई पोखराबाट काठमाडौं ल्याउन लागिएको हो । स्वर्णलक्ष्मीमा बचतकर्ताले जम्मा गरेको रकम रवि प्रबन्ध निर्देशक रहेको गोरखा मिडिया प्रालिमा लगेको देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले बुद्ध एअरको उडानमार्फत मंगलबार बिहान लामिछानेलाई काठमाडौं लैजान लागिएको जनाएको छ ।
पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत आधा दर्जन सहकारीको रकम गोरखा मिडिया प्रालिमा लैजानमा रविको संलग्नता नभए पनि त्यहाँ रकम गइसकेपछि खर्च गर्ने कार्यमा संलग्न रहेको भन्दै संसदीय छानबिन समितिले उनीमाथि कारबाही गर्न सरकारलाइ सुझाव दिएकाे थियाे । समितिकाे यस्ताे सुझाव लगत्तै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर उनलाइ पोखरा लगिएकाे थियाे ।
उनीमाथि अदालतबाट पटक–पटक म्याद थप गरेर त्यसयता अनुसन्धान हुँदै अाइरहेकाे छ । आइतबार मात्रै जिल्ला अदालत कास्कीले उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई थप १५ दिनको समय उपलब्ध गराएको छ ।
सहकारी ठगीसँगै सम्पत्ति शुद्धीकरण र संगठित अपराधमा अनुसन्धान गरिरहेको प्रहरीले गोरखा मिडियामा रकम गएका सहकारी रहेका जिल्लामै लगेर रविसँग बयान लिइरहेको छ । यसैक्रममा रूपन्देहीको बुटवलमा लगेर पनि उनीसँग बयान लिइएको थियो ।
रवि र उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी ठगी प्रकरणमा संलग्न नहुँदा नहुँदै पनि राजनीतिक पूर्वाग्रहका आधारमा पक्राउ गरेर हिरासतमा राखेको दाबी गर्दै आएको छ । यद्यपि, सहकारीबाट गोखरा मिडिया प्रालिमा आएको रकम खर्च गर्ने कार्यमा भने आफू जिम्मेवार रहेको रविले स्वीकार गरेका छन् ।
रविसँगै गितेन्द्रबाबु राई, छविलाल जोशी बञ्जाडेलगायत व्यक्तिविरुद्ध पनि संसदीय छानबिन समितिको सिफारिसकै आधारमा पक्राउ पुर्जी जारी भएको थियाे । लामिछाने र जोशी पक्राउ परे पनि राई भने हालसम्म फरार छन् । मलेसियामा रहेका उनलाई नेपाल ल्याउन प्रयास भइरहेको सरकारले बताउने गरे पनि सफलता मिलेको छैन ।
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया