NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २९ गते

बीपी क्यान्सर अस्पतालमा अब बाल क्यान्सरको निःशुल्क उपचार

चितवन । बिपी कोइराला मेमोरियल बाल क्यान्सर अस्पतालमा क्यान्सर संक्रमित बालबालिकाको अब निःशुल्क उपचार हुने भएको छ ।

अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकामा अब केमोलगायत औषधि पनि निःशुल्क उपलब्ध गराउने भएको हो ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार डिसेम्बरको अन्तिमसम्म विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) बाट केमोसहितका ३५ बाल क्यान्सरका औषधि निःशुल्क आउँदैछन् । ती औषधि नआउँदासम्म अहिले अस्पतालले नै औषधि उपलब्ध गराउँदै आएको छ ।

“मन्त्रालयले स्रोत सुनिश्चितता गरेकाले हामीले औषधिसमेत सम्पूर्ण उपचार निःशुल्क सुरु गरेका छौं,” उनले भने ।

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ । उनले भने, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।”

पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ ।

अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा कृष्णसागर शर्मा बालबालिकामा लागेको क्यान्सर सुरुकै अवस्थामा पत्ता लागे निको हुने बताउँछन् । नेपालमा बर्सेनि एक हजार पाँच सय हाराहारीमा बालबालिकालाई क्यान्सर हुने गरेको छ । तीमध्ये आधा मात्र उपचारको पहुँचमा आउने गरेको उनले जानकारी दिए ।

उनले भने, “कतिपय बालबालिका क्यान्सर पत्ता नलागी ज्यान गुमाएका हुन्छन् । कतिपय विदेशमा गएर उपचार गराएका छन् । तर ५० प्रतिशत बालबालिका क्यान्सर अस्पतालको पहुँच बाहिर रहेको अनुमान गरिएको छ ।”

बाल क्यान्सरको उपचार पूर्ण निःशुल्क भएसँगै पहुँच बाहिर रहेका बालबालिका पनि उपचारको पहुँचमा आउने विश्वास उनले व्यक्त गरे ।

ताजा अपडेट

नेपालवाच विशेष