NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ७ गते

बाख्रापालनबाट वार्षिक १५ लाख आम्दानी !

दाङ । तुलसीपुर उपमहानगरपालिका–१०, टरिगाउँका ४० वर्षीय रुद्रगोपाल डाँगीले उन्नत जातका बाख्रापालन व्यवसायबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गरिरहेका छन् । नेपाल प्रहरीबाट सेवानिवृत्त भएपश्चात् विसं ०७५ देखि व्यावसायिक बाख्रापालन सुरु गरेका उनले सबै खर्च कटाएर वार्षिक रु. छ लाख बचत हुने गरेको बताए ।

डाँगीले कृषि तथा पशुपालन क्षेत्रमा सम्भावना खोज्दै साहारा पशुपालन फार्म खोलेर उन्नत जातका बाख्रापालन सुरुआत गरेका थिए । उनी व्यावसायिक तरिकाबाट उन्नत जातका बाख्रापालन गरेर छोटो समयमा एक सफल बाख्रापालक किसानका रूपमा आफूलाई चिनाउन सफल भएका छन् । विगत छ वर्षदेखि सो पेसामा आबद्ध डाँगीले अहिले दुई जना स्थानीयलाई रोजगारीसमेत दिएका छन् ।

सुरुका वर्षमा स्थानीयको एक कच्चीघरसहित केही जमिन भाडामा लिएर व्यवसायको सुरु गरे पनि अहिले आफ्नै पाँच कठ्ठा जमिनमा बाख्राका लागि खोर तथा घाँसका लागि रूख निर्माण गरेको डाँगीले बताए । उनका अनुसार फार्ममा अहिले साना र ठूला गरी दुई दर्जन बढी बाख्रा छन् ।

दसैँका समयमा १० वटा खसी, आठ वटा बोका बिक्री गरेको डाँगीले जानकारी दिए । खसी अधिकांश २५ किलो माथि र बोका १३ देखि १५ किलोका बिक्री गर्दा मनग्ये आम्दानी भएको भन्दै जिउँदो खसी प्रतिकेजी रु आठ सय र बोका जिउँदो रु सात सय ६५ का दरले बिक्री गरेको उनले बताए ।

डाँगीले फार्ममा अहिलेसम्म रु १५ लाख बढी लगानी भइसकेको बताए । खसी, बोका र बाख्राको मल बिक्रीबाट वार्षिक रु १४ देखि १५ लाखसम्म आम्दानी हुने गरेको जनाउँदै सबै खर्च कटाएर वार्षिक रु छ लाखसम्म बचत हुने गरेको उनले जनाए ।

घाँसको पर्याप्त उत्पादन नहुँदा, दाना तथा चरणलगायत अन्य सामग्री खरिद गर्नुपरेकाले लागत खर्च बढेको पनि डाँगीले बताए ।

“अहिलेसम्म सरकारी निकायबाट केही प्राविधिक सहयोग पाए पनि आर्थिक सहयोग नमिलेको उनको भनाइ छ ।

कम लगानीमा छोटो समयमा मनग्य आम्दानी गर्न सकिने भएकाले अहिले फार्ममा विभिन्न ठाउँबाट बाख्रा हेर्न, जानकारी लिन तथा खरिदका लागि मानिस आउने गरेका डाँगीले बताए । किसानद्वारा उत्पादित सामग्रीलाई बजार व्यवस्थापनमा स्थानीय सरकारले सहयोग गर्नुपर्ने सुझाव दिँदै युवालाई स्वदेशमा रोजगारीका अवसर सृजना गर्न कृषिमा अनुदान, आर्थिक सहयोग तथा सीप विकासमा स्थानीय सरकार केन्द्रित हुनुपर्नेमा उनले जोड दिए ।