NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १२ गते

हवाई टिकट नमिलेपछि रविलाई काठमाडौं ल्याउने समय सर्यो

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका रवि लामिछानेलाई काठमाडौं ल्याउने समय सरेको छ ।

काठमाडौंको स्वर्णलक्ष्मी बचत सहकारी संस्थाको रकम गोरखा मिडिया प्रालिमा लगेर अपचलन गरिएको विषयमा बयान लिन त्यसका तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका रास्वपा सभापति लामिछानेलाई मंगलबार बिहान ८ः४० बजे बुद्ध एअरको उडानमार्फत काठमाडौं ल्याउने तय भएको थियो । तर विमानको टिकट उपलब्ध नहुँदा काठमाडौं पठाउन अन्योल भएको छ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले हवाई टिकटलगायत कागजात उपलब्ध नभएकाले काठमाडौं पठाउन विलम्ब भएको जनाएको छ ।

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मीलगायत आधा दर्जन सहकारीमा बचतकर्ताले जम्मा गरेको रकम गोरखा मिडिया प्रालिमा लैजाने कार्यमा संलग्न नभए पनि उक्त रकम त्यहाँ गइसकेपछि खर्च गर्ने कार्यमा संलग्न भएको ठहर गर्दै संसदीय छानबिन समितिले रविविरुद्ध कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो । सोही आधारमा गत कात्तिक २ गते पक्राउ गरेर पोखरास्थित प्रहरी हिरासतमा राखिएका लामिछानेमाथि अदालतबाट पटक पटक म्याद थप गरेर अनुसन्धान भइरहेको छ । पछिल्लो पटक आइतबार मात्रै उनीमाथि अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले १५ दिनको समय उपलब्ध गराएको छ ।

रविविरुद्ध प्रहरीले यतिबेला संगठित अपराध, सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । लामिछाने र उनी नेतृत्वको रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा एक व्यक्तिविरुद्ध सिंगो राज्यशक्ति लागेको गुनासो गर्दै आइरहेको छ ।