तारकेश्वर नगरपालिका क्षेत्रभित्र सार्वजनिक सवारीसाधन चलाउन रोक
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका क्षेत्रभित्र दुर्घटना बढेपछि सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।
नगरपालिका क्षेत्रभित्र सार्वजनिक सवारी साधन सञ्चालन गर्दै आइरहेका समितिबाट दुर्घटना न्यूनीकरणको लिखित प्रतिबद्धता नआएसम्मका लागि भन्दै तारकेश्वर नगर कार्यपालिकाको कार्यालयले सोमबारदेखि आवागमनमा रोक लगाएको हो ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले नगरपालिकाको अगुवाइमा प्रहरी वृत्त, बालाजु, ट्राफिक प्रहरी वृत्त, नयाँबसपार्क, नगर प्रहरी र यातायात व्यवसायी समितिबीचको संयुक्त बैठकमा दुर्घटना न्यूनीकरणका लागि समितिहरूबाट लिखित प्रतिबद्धता माग्ने र त्यो नआउँदासम्मका लागि आवागमन गर्न नदिने सहमतिबमोजिम सवारीसाधन सञ्चालनमा रोक लगाइएको बताए । समितिहरूबाट लिखित प्रतिबद्धता आएपछि भने पूर्ववत ढंगले सवारी साधन सञ्चालन गर्न दिने उनको भनाइ छ ।
यो नगरपालिका क्षेत्रभित्र तारकेश्वर यातायात प्रालि, शान्तिधाम यातायात प्रालि, बाइसधारा यातायात प्रालि, मौलिक यातायात प्रालिलगायत समितिमार्फत सवारी साधन सञ्चालन हुँदै आएका छन् । योसँगै नगरबासीले सार्वजनिक सवारी आवागमनको असुविधा झेल्ने भएका छन् । जोखिमपूर्ण यात्रा गर्नुपर्ने अवस्थाको अन्त्य गर्दै समग्र यातायात व्यवस्थापन गर्न र भविष्यमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न यस्तो कदम चालिएको स्मरण गराउँदै नगरपालिकाले यसबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ ।
तारकेश्वर नगरपालिका क्षेत्रभित्र सञ्चालित सार्वजनिक सवारीसाधनले तीव्र गतिमा दौडाउने, क्षमताभन्दा बढी यात्रु चढाउने लगायत ट्राफिक नियम विपरीतका कार्य गर्दा दुर्घटना दर बढ्दै गएको छ । गत शनिबार मात्रै तारकेश्वर नगरपालिकाको लामबगर भन्ने स्थानमा रोकिराखेको बसमा तारकेश्वर यातायातको यात्रुबाहक बस ठोक्किँदा त्यसमा सवार २ जनाको मृत्यु भएको थियो । सहचालक गम्भीर घाइते छन् ।
प्रतिक्रिया