पेकिङ विश्वविद्यालयमा ओली– बिआरआईको प्रशंसा, एक चीन नीतिप्रति प्रतिबद्ध
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको पथमा नेपाल चीनसँगै अघि बढ्न चाहेको बताएका छन् ।
पेकिङ विश्वविद्यालयमा बुधबार बिहान निम्त्याइएका ओलीले लिखित प्रवचन प्रस्तुत गर्दै नेपाल विकास र समृद्धिको यात्रामा चीनसँगै अघि बढ्न चाहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको दोहो–याए । ‘सबै दलको सहमतिमा बनेको एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको छ,’ उनले भने ।
बिआरआई जस्तो दूरदर्शी परियोजना अघि बढाएको भन्दै प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङको प्रशंसा गरे । साझा समृद्धि र सहयोगको भावना राखेर बिआरआई आएको र यसबाट नेपालले लाभ लिने ओलीको भनाइ थियो ।
‘साझा समृद्धि र सहयोगको भावनामा बेल्ट एण्ड रोड इनिसिएटिभ जस्ता राष्ट्रपति सीको दूरदर्शी पहलको हामी प्रशंसा गर्न चाहन्छौं,’ उनले भने ।
नेपालको विकासमा चीनको दरिलो साथ प्राप्त भएको र राष्ट्रपति सी चिनफिङको दुरदर्शी नेतृत्वमा सुरु भएको बिआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुने उनले बताए ।
८० करोड जनतालाई गरिबीबाट बाहिर निकालेर चीनले उदाहरणीय काम गरेको उनले बताए ।
प्रधानमन्त्री ओलीले मदन भण्डारी विश्वविद्यालयसँग शैक्षिक कार्यक्रममा सहकार्य गर्न पनि प्रस्ताव गरेका छन् ।
प्रतिक्रिया