प्रदर्शन चर्किएपछि रविलाई चितवनबाट रातारात पोखरा पु–याइयो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई चितवनबाट रातारात पोखरा पु-याइएको छ ।
साहरा सहकारीको बचत रकम हिनामिना प्रकरणमा बयानका लागि चितवन लगिएका रविकाे पक्षमा प्रदर्शन चर्किएपछि सडक मार्ग हुँदै प्रहरीले रातारात उनलाई पोखरा पु–याएको हो ।
मंगलबार चितवनमा रवि समर्थकको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरी र समर्थक घाइते भएका थिए ।
प्रहरी स्रोतका अनुसार रविलाई बिहीबार बिहान हवाई मार्ग हुँदै पोखरा ल्याउने तयारी थियाे । तर प्रदर्शन चर्कने संकेतपछि सडक मार्ग हुँदै रातारात पोखरा लगिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सडक मार्ग हुँदै बिहान ३ बजे रविलाई पोखरा ल्याइपु–याएको जनाएको छ ।
सहकारीको रकम गोरखा मिडिया प्रालिमा ल्याउन संलग्न नभए पनि त्यहाँ गइसकेपछि अपचलन गर्ने कार्य गरेको भन्दै संसदीय छानबिन समितिले सो संस्थाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथि कारबाही सिफारिस गरेको थियो । सोही आधारमा गत कात्तिक २ गते पक्राउ परेका रविविरुद्ध गोरखा मिडिया प्रालिमा रकम गएका सहकारी रहेका जिल्लामा लगेर प्रहरीले बयान लिइरहेको छ । यसअघि बयानका लागि रूपन्देही, काठमाडौं लगिएका रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी गरिएकाले त्यहाँ पनि लगिने छ ।
लामिछानेविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध, सम्पत्ति शुद्धीकरणमा पनि प्रहरीले अनुसन्धान गरिरहेको छ । रवि र उनको दल रास्वपाले भने सहकारी ठगीमा संलग्न नहुँदा नहुँदै पनि राजनीतिक प्रेरित कारबाही अघि बढाइएको भन्दै यथाशिघ्र बयान सकाएर अदालतमा मुद्दा पेश गर्न आग्रह गर्दै आइरहेको छ ।
प्रतिक्रिया