NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

यसरी अघि बढ्नेछ अब रविको अदालती प्रक्रिया

काठमाडौं । सहकारी ठगी प्रकरणको अनुसन्धानका लागि गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको प्रकरणले प्रहरी हुँदै अब अदालतमा प्रवेश पाएको छ । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले आइतबार प्रहरीले दिएको प्रतिवेदनका आधारमा रविविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा दर्ता गरेको हो ।

पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु. २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको हो ।

आइतबार मुद्दा दायर भइसकेकाले सोमबारदेखि अब रविको बयान हुनेछ । बयान सकिएपछि थुनछेक बहस सुरु हुनेछ । त्यसमा पक्ष र विपक्षका वकिलबीच थुनामा पठाउनुपर्ने या साधारण तारेख र धरौटीमा छाड्नुपर्नेबारे बहस हुनेछ ।

दुवै पक्षका वकिलले आफ्ना कुरा इजलाससमक्ष राख्न पाउने भएकाले यो बहस केही दिन लम्बिने सम्भावना छ ।

थुनछेक बहस सकिएपछि बल्ल न्यायाधीशले साधारण तारेख, धरौटीमा छाड्ने वा थुनामा पठाउने आदेश गर्नेछन् ।

प्रमाण बलियो भएका, तीन वर्षभन्दा बढी कैद सजाय माग दाबी भएका मुद्दामा सामान्यतया आरोपितलाई थुनामा पठाउने चलन छ । आरोपित भाग्न सक्ने, मुद्दा प्रभावित पार्नसक्ने जस्ता अवस्था नरहेको स्थितिमा भने थुना बाहिर रहेरै मुद्दा लड्न सक्ने सुविधा दिइन्छ ।

रवि लामिछानेको हकमा सहकारी ठगीमा सिधै संलग्न रहेको प्रमाण भेटिएको छैन । लामिछानेको खातामा स्रोत नखुलेको रकम जम्मा भएको विषयमा भने प्रहरी र सरकारी वकिलको कार्यालयले प्रश्न उठाएको छ ।

अन्य जिल्लामा पनि लगिने

सहकारी ठगी प्रकरणको अनुसन्धान निम्ति गत कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई बयानका लागि रुपन्देही, कास्की, चितवन, पर्सा र काठमाडौं ल्याइएको थियो ।

अभियोजन दर्तामा पनि अब यसैगरी उनलाई सबै जिल्लामा पुर्याइनेछ । त्यसैले लामिछानेलाई जिल्ला अदालत कास्कीले छाडे पनि अन्य जिल्ला अदालतले पनि यसबारे निर्णय लिनेछन ।

ताजा अपडेट

नेपालवाच विशेष