NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ११ गते

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । दक्षिण कोरियाका निलम्बित राष्ट्रपति यून सुक योलविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।

त्यहाँको सियोल पश्चिम जिल्ला अदालतले मंगलबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

दक्षिण कोरियाको संयुक्त जाँच मुख्यालयले यूनविरुद्ध मंगलबार अदालतबाट पक्राउ र खानतलासी पुर्जी जारी भएको जनाएको छ ।

राष्ट्रपति छँदा चालेका कतिपय विवादास्पद कदममाथि अनुसन्धान गर्न त्यहाँको सरकारी निकायले उनलाई बोलाएको थियो । तीन पटकसम्म उनले त्यस्तो आग्रहलाई इन्कार गरेपछि अनुसन्धानमा असहयोग गरेको जिरह गर्दै अदालतसमक्ष पक्राउ पुर्जी जारी गर्न माग गरिएको थियो । मंगलबार अदालतले सोहीबमोजिम उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

यही डिसेम्बर ३ मा यूनले सैनिक शासन लागू गर्ने कानून लागू गरेपछि उनीविरुद्ध संसद्मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । उक्त प्रस्ताव पारित भएपछि उनी निलम्बित भएका छन् । यसबारेको अन्तिम निर्णय गर्ने अधिकार अदालतसँग भए पनि किनारा लाग्न बाँकी छ ।

दक्षिण कोरियाको इतिहासमा यसरी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी जारी भएको पहिलो घटना हो ।