हराउँदै गुन्द्री बुन्ने चलन
वालिङ । पछिल्लो समय यहाँ गुन्द्री बुन्ने चलन हराउँदै गएको छ । खेतमा धान काटेर दाइँ हाल्ने बेला लामो–लामो परालका छाँटेर राख्ने र फुर्सदका बेला गुन्द्री बुन्ने परम्परा रही आएको छ ।
खेतबारीमा भएका बालीनाली भित्र्याइसकेपछि विशेषगरी पुस–माघका दिनमा फुर्सदिलो समयमा हाते तानको माध्यमबाट गुन्द्री बुन्ने परम्परा हराउँदै गएको हो । धार्मिक पूजाआजा तथा पितृकार्यमा पनि धानको परालबाट बुनिएका नयाँ गुन्द्री प्रयोग गर्ने चलन थियो । बजारमा आउने प्लास्टिकका गुन्द्री तथा म्याटका प्रयोग बढ्दै जाँदा गुन्द्री बुन्नै छाडिएको वालिङ–८ की सीता सुवेदीले बताए ।
“बजारमा प्लास्टिकका गुन्द्री र म्याट पाइन्छ, तिनकै प्रयोग गर्न थालियो”, उनले भने, “गुन्द्री बुन्न अब हामीले सकिँदैन नयाँ पुस्ताले गुन्द्री बुन्न दुःख मान्छन् ।”
अझ पछिल्लो समय खेती गर्नै छाडेकाले परालको अभाव हुने र खेती गरिहालेमा पनि हाइब्रिड जातको खेती गर्दा पराल छोटो हुने गरेको उनले बताए ।
सहरोन्मुख क्षेत्रमा प्लास्टिकबाट बनेका गुन्द्री र म्याटको प्रयोग बढ्दै गएकाले गुन्द्री बुन्न छाडिएको उनले बताए । ग्रामीण भेगमा अझै पनि छिटपुट रूपमा गुन्द्री बुन्ने गरे पनि विस्तारै बजारको प्रभाव ग्रामीण क्षेत्रमा पर्दै गएकाले गुन्द्री बुन्ने पराम्परा हराउँदै गएको वालिङ–८ की रन्नता बगालेले बताए ।
गुन्द्री बुन्न झन्झटिलो भएकाले पनि नयाँ पुस्ता आकर्षित नभएको हुनसक्ने उनी बताउँछन् । नयाँ पुस्ताको आकर्षण नहुनु एकातिर छ भने अर्कातिर पुरानो पुस्ताले जानेको सीप नयाँ पुस्तामा हस्तान्तरण नगर्दा गुन्द्री बुन्ने संस्कृति लोप भएर जानसक्छ । परालको लम्बाइअनुसार गुन्द्रीको चौडाइ निर्धारण गरी गुन्द्री बुन्ने गरिन्छ । छोटो परालबाट थर्कटी तथा चकटी बुन्न सकिन्छ । स्थानीय स्रोत र साधनको प्रयोग गरी गुन्द्री बुन्ने गरिन्छ । विशेषगरी धानको पराल, जुटको धागो, बाबियोको खर प्रयोग गरी गुन्द्री बुन्न सकिन्छ । हाते तान बनाएर जुट वा बाबियोको खरको डोरीमा बुनिएको पराललाई काठको हतासोले ठोकेर गुन्द्री बनाउने गरेको पाइन्छ ।
ताजा अपडेट
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
आजको मौसमः केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना
-
अमेरिका-इरानबीच शान्ति सम्झौताको घोषणा, जुन १९ मा स्वीजरल्यान्डमा औपचारिक हस्ताक्षर हुने
-
विश्वकप: चार पटक विश्वकप विजेता जर्मनी विजयी
-
टेम्पो भिरमा खसालिएको घटनामा १० जना नियन्त्रणमा


प्रतिक्रिया