NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ १२ गते

रिहापछि रविको पहिलो प्रतिक्रिया– न्याय नमरेको आभास भयो

काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी अभियोगमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने नेपाल प्रहरीको कास्की हिरासतबाट मुक्त भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिश राईको इजलासले ६५ लाख धरौटीमा रिहा गर्ने आदेश दिएपछि लामिछाने बिहीबार नै अदालतबाट रिहा भएका हुन् ।

जिल्ला अदालत काठमाडौंमा आफैं उपस्थित हुने सर्तमा रिहा भएका लामिछानेले ८४ दिन लामो हिरासत बसाइपछि पहिलो प्रतिक्रिया दिँदै न्याय मरेको छैन भन्ने कुराको आभास भएको बताएका छन् । धरौटीमा छाड्ने आदेश दिएकोमा उनले न्यायालयप्रति धन्यवाद समेत व्यक्त गरे ।

‘न्यायालयलाई म धेरै धेरै धन्यवाद दिन चाहान्छु, न्याय मरेको छैन भन्ने कुराको आभास भएको छ,’ स्वास्थ्य परीक्षण गराएर प्रहरीले परिवारको जिम्मा लगाएपछि रविले भने ।

लामिछानेले अझै धेरै लडाइँ लड्न बाँकी रहेको पनि बताए । आफ्नो बोल्ने पालो आएपछि नबोल भने पनि बोल्ने उनको भनाइ छ ।

सहकारी ठगी प्रकरणमा पक्राउपछि आफूलाई धेरैतिरबाट साथ, सहयोग र हौसला प्राप्त भएको उल्लेख गर्दै उनले सबैप्रति आभार प्रकट गरेका छन् ।