लामिछानेलाई आज काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइँदै

काठमाडौं । काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपलचनको आरोप खेपिरहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराउँदैछ ।
जिल्ला अदालत कास्कीको आदेशबमोजिम आइतबार जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका लामिछानेको थुनछेक बहस हुन नसकेपछि न्यायाधीश माधव अधिकारीले सोमबारबाट त्यसलाई अघि बढाउने निर्णय गर्दै उनलाई न्यायिक हिरासत पठाउन आदेश दिएका थिए । सोहीअनुरूप सोमबार कार्यालय समय सुरु हुनेबित्तिकै उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो ।
जिल्ला अदालत कास्कीबाट ६५ लाख धरौटीमा रिहा भएका लामिछानेलाई काठमाडौंमा सहकारी ठगी र संगठित अपराधको दुई अभियोग लगाएर मुद्दा दायर गरिएको छ ।
जिल्ला अदालत कास्कीमा यसअघि रवि पक्षका धेरै जना वकिलले लामो बहस गरेका थिए । काठमाडौंमा भने पोखरामा जस्तो लम्बेतान बहस नगरेर संक्षिप्त गर्ने रवि पक्षका वकिलको तयारी छ । त्यसैले यसपालि छिट्टै यो प्रक्रिया पूरा हुने अवस्था छ ।
सोमबारबाट सुरु हुने थुनछेक बहस सम्पन्न भएपश्चात अदालतबाट साधारण तारिख र धरौटीमा रिहा गर्ने या पुर्पक्षका लागि कारागार चलान गर्नेमध्ये एक निर्णय हुनेछ ।
काठमाडौंपछि रविविरुद्ध रूपन्देही, पर्सा र चितवन जिल्ला अदालतमा पनि मुद्दा दायर हुनेछ । उनी गोरखा मिडिया प्रालिको निर्देशक रहँदा यी तीन जिल्लाका सहकारीबाट पनि रकम सारिएकोले यसअघि यी जिल्लामा लगेर प्रहरीले उनीसँग बयान लिएको थियो ।
प्रतिक्रिया