ओलीको आलोचना गर्ने पूर्वसांसद् एमालेबाट निलम्बित
काठमाडौं । नेकपा (एमाले) का नेता तथा कोशी प्रदेशसभाका पूर्वसांसद विमल कार्कीलाई एमालेले निलम्बन गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै एमाले, कोशी प्रदेश कमिटीले कार्कीलाई ६ महिनाका लागि पार्टीबाट निलम्बन गरेको हो ।
एमालेको कोशी प्रदेश कमिटीको गत मंसिर १६ को बैठकले पार्टी नेतृत्वको आलोचना गरेको भन्दै त्यस्तो गतिविधि गर्नुको कारणबारे स्पष्टीकरण मागेको थियो । त्यसको डेढ महिनापछि प्रदेश कमिटीले ६ महिनाका लागि पार्टीको सबै जिम्मेवारीबाट उनलाई मुक्त गरेको हो ।
कार्की एमालेको प्रदेश कमिटी सल्लाहकार र राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्य थिए ।
पार्टी नेतृत्वका विरुद्ध सामाजिक सञ्जालमा लगातार स्ट्याटस लेख्नेलगायत अनुशासनहीन कार्य गरेकाले उनलाई ६ महिनाका लागि पार्टी जिम्मेवारीबाट निलम्बन गरिएको एमाले कोशी प्रदेश कमिटीले जनाएको छ ।
एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट कार्कीले सामाजिक सञ्जालमार्फत त्यसप्रति असन्तुष्टि पोख्दै आएका थिए ।
त्यसैगरी, प्रदेश कमिटीले अन्य ३ जनाविरुद्ध पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको बताइएको छ । यो निर्णयलाई भने सार्वजनिक नगरी गोप्य राखिएको छ ।
आफूमाथि प्रश्न गर्नेविरुद्ध एमाले नेतृत्व पछिल्लो समय निर्मम ढंगले प्रस्तुत हुँदै आएको छ । विवादित व्यापारी मीनबहादुर गुरुङले पार्टी कार्यालय निर्माणका लागि दिएको जग्गा ग्रहण गर्न नहुने अभिव्यक्ति दिएका भीम रावललाई एमालेले पार्टीबाट निष्कासन नै गरिसकेको छ भने स्थायी कमिटी सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई ६ महिनाका लागि निलम्बन गरिएको छ । नेतृत्वको यस्तो गतिविधिपछि आन्तरिक लोकतन्त्र मासेको भन्दै एमालेको आलोचना भइरहेको छ ।
ताजा अपडेट
-
टीकाका दिन मौसम सफा रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना
-
भ्रष्टाचार र कुशासन हटाउन एकजुट हुन प्रधानमन्त्री शाहको आह्वान
-
रसुवा र नुवाकोटका धार्मिक तथा पर्यटकीय क्षेत्र भ्रमणका लागि सुरक्षित
-
बडा दशैंको मुख्य दिन आज, उत्तम साइत बिहान १०ः२६ बजे
-
दशैंको उपहारः भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा


प्रतिक्रिया