के हो प्रहरीबाट युवक कुटिएको भिडियोको वास्तविकता ?
काठमाडौं । मोटरसाइकल चेकजाँच गरिरहेको स्थानबाट अचानक भागेका युवकमाथि प्रहरी जाइलाग्दै पछिपछि दगुर्छन् । थोरै पर पुगेका युवक केहीमा ठोक्किन्छन् र लड्न पुग्छन् । त्यसपछि ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने’ भन्दै बर्दीधारी प्रहरीले युवकमाथि निर्घात कुटपिट गरिरहन्छन् । युवक प्रहरीकाे ज्यादतिसामु निरीह हुँदा केही व्यक्ति नजिकै हुन्छन् । तर उनीहरूले केही गर्दैनन् ।रमिते बनिरहन्छन् । प्रहरी थप उन्माद देखाउँदै युवकमाथि बुट बजारिरहन्छन् ।
आमनागरिकको जीउधनको रक्षा गर्नुपर्ने प्रहरी आफैंले नागरिकमाथि गरेको ज्यादतिको उल्लिखित भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सवारीसाधन चेकजाँचका क्रममा युवकले असन्तुष्टि जनाउँदै माथिल्लो निकायमा गुनासो गरेपछि घटना हुन पुगेको छनक संवादले दिन्छ । तर त्यसबाट यही कारण यस्तो हुन पुगेको हो भन्ने खुल्दैन ।
भिडियो सामाजिक सञ्जालमा छरप्रष्ट बनेपछि धेरैले प्रहरी ज्यादतिको आलोचना गर्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।
प्रहरीको छविमै धक्का लाग्ने उक्त भिडियो चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडक खण्डको भएको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले उक्त भिडियो भरतपुरको बाइपास सडक खण्डको भएको पुष्टि गर्यो । यद्यपि, यो भिडियो हालसालको नभएर केही पुरानो रहेको प्रहरी भनाइ छ ।
अनुसन्धान गर्न छानबिन समिति
घटना सार्वजनिकपछि प्रहरीले यसमाथि अनुसन्धान गर्न डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।समितिलाई यसमाथि अनुसन्धान गरेर त्यसमा देखिएका विषय प्रतिवेदनमार्फत प्रस्तुत गर्नुपर्ने कार्यादेश छ ।
जिल्ला प्रहरी कार्यालय, चितवनले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिँदै समितिबाट प्रतिवेदन प्राप्त भएपछि यसको यथार्थ बाहिर आउने बताएको छ ।
भिडियो स्रोत : सामाजिक सञ्जाल
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया