NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन ४ गते

के हो प्रहरीबाट युवक कुटिएको भिडियोको वास्तविकता ?

काठमाडौं । मोटरसाइकल चेकजाँच गरिरहेको स्थानबाट अचानक भागेका युवकमाथि प्रहरी जाइलाग्दै पछिपछि दगुर्छन् । थोरै पर पुगेका युवक केहीमा ठोक्किन्छन् र लड्न पुग्छन् । त्यसपछि  ‘फोन गर्ने ?’, ‘माथिको पावर देखाउने’ भन्दै बर्दीधारी प्रहरीले युवकमाथि निर्घात कुटपिट गरिरहन्छन् । युवक प्रहरीकाे ज्यादतिसामु निरीह हुँदा केही व्यक्ति नजिकै हुन्छन् । तर उनीहरूले केही गर्दैनन् ।रमिते बनिरहन्छन् ।  प्रहरी थप उन्माद  देखाउँदै युवकमाथि बुट बजारिरहन्छन् ।

आमनागरिकको जीउधनको रक्षा गर्नुपर्ने प्रहरी आफैंले नागरिकमाथि गरेको ज्यादतिको उल्लिखित भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । सवारीसाधन चेकजाँचका क्रममा युवकले असन्तुष्टि जनाउँदै माथिल्लो निकायमा गुनासो गरेपछि घटना हुन पुगेको छनक संवादले दिन्छ । तर त्यसबाट यही कारण यस्तो हुन पुगेको हो भन्ने खुल्दैन ।

भिडियो सामाजिक सञ्जालमा छरप्रष्ट बनेपछि धेरैले प्रहरी ज्यादतिको आलोचना गर्दै दोषीउपर कारबाही गर्न माग गरेका छन् ।

प्रहरीको छविमै धक्का लाग्ने उक्त भिडियो चितवनको भरतपुर महानगरपालिकास्थित बाइपास सडक खण्डको भएको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले उक्त भिडियो भरतपुरको बाइपास सडक खण्डको भएको पुष्टि गर्यो । यद्यपि, यो भिडियो हालसालको नभएर केही पुरानो रहेको प्रहरी भनाइ छ ।

अनुसन्धान गर्न छानबिन समिति

घटना सार्वजनिकपछि प्रहरीले यसमाथि अनुसन्धान गर्न डिएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ ।समितिलाई यसमाथि अनुसन्धान गरेर त्यसमा देखिएका विषय प्रतिवेदनमार्फत प्रस्तुत गर्नुपर्ने कार्यादेश छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनले घटनाबारे अनुसन्धान सुरु भइसकेको जानकारी दिँदै समितिबाट प्रतिवेदन प्राप्त भएपछि यसको यथार्थ बाहिर आउने बताएको छ ।

भिडियो स्रोत : सामाजिक सञ्जाल

 

 

 

ताजा अपडेट

नेपालवाच विशेष