ज्योतिजी, तपाईं एअरलाइन्सको प्रवक्ता हो ?

काठमाडौं । गायिका समीक्षा अधिकारीले आइतबार बिहान नेपालका एअरलाइन्सको सेवाबारे गुनासो गर्दै फेसबुकमा छोटो स्ट्याटस पोस्ट् गरिन् । आन्तरिक उडान भर्ने एअरलाइन्सहरूले सेवा प्रवाह चुस्त नपारेर दुःख दिएको समीक्षाको उक्त स्ट्यासको सार थियो ।
श्री एअरलाइन्सकोशैलीप्रति असन्तोष जनाउँदै समीक्षाले लेखेकी थिइन्– मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ।’
अन्य एअरलाइन्सले धमाधम प्लेन उडाइरहँदा पनि श्री एअरलाइन्सले भने मौसमको बहाना बनाएर प्लेन नउडाएको अधिकारीको आरोप थियो ।
एअरलाइन्सबाट लगातार धोका भइरहेको र यसका कारण कार्यक्रमहरू नै छुटाउनु परेको समीक्षाको तीतो अनुभव छ ।
यात्रुलाई अनावश्यक सास्ती दिने एअरलाइन्सबारे समीक्षाले गरेको प्रश्न जायज छ । हर कोहीले सेवाका क्रममा कहर झेलेको छ, हैरानी पाएको छ भने यस्तो गुनासो गर्न ऊ स्वतन्त्र छ । लोकतन्त्रमा वेथिति र अव्यवस्था सुधार गर्न पनि प्रश्न जरुरी हुन्छ ।
तर खै किन हो, ज्योतिलाई भने एअरलाइन्सको कमजोर सेवा प्रवाहबारे समीक्षाले गरेको जायज प्रश्नले औडाहा भएछ ।उनी आँगो ओकल्दै सामाजिक सञ्जालमा उनको बद्ख्वाइ गर्न आइहालिन् । जसमा उनले केही शब्द प्रयोग गरेकी छन्, जसले ज्योति आफ्नै उचाइलाई साथ दिँदैन ।
त्यसो त, ज्योतिलाई समीक्षाको कुरा मन पर्नैपर्छ भन्ने छैन । तर जायज प्रश्नलाई पन्छाउँदै हियाउन उनले पाउँदिनन् । तर ज्योतिले त्याे लक्ष्मण रेखा भुलेर आफूभन्दा अनुज समीक्षालाई होच्याउँदै केटाकेटी मात्र भनेकी छैनन्, पाखेसम्म भन्न भ्याएकी छन् ।
‘…भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकारहरू आजभोलि अधिकांश एअरलाइन्सलाई गाली गर्दै आक्रोश पोख्दै आफूलाई भयंकर ठूलो स्टार सम्भेको देख्दा मलाई हाँसो उठ्छ बरै,’ समीक्षालाई इंगित गर्दै ज्योतिले स्ट्याटसमा लेखेकी छन्, ‘नेपालको एअरपोर्ट एअरलाइन्सहरूको बारेमा बुझ पाखेहरू । कुनै पनि एअरलाइन्सले जानीजानी दुःख दिँदैनन् ।’
सामाजिक सञ्जालमा यो स्टेटमेन्टको आलोचनापछि त्यसलाई हटाउँदै ज्योतिले बुझाइ गलत पर्न गएको भन्दै सच्याएकी छन् । तर आफ्नो दम्भ र घमण्ड भने उनले यथावत् राखेकी छन् ।
ज्योतिको छवि प्रायः विद्रोही कलाकारको छ । गायनमा उत्ताउलोपन झल्किए पनि उनका विचार उम्दा हुन्छन् । तर उनै ज्याेतिले आफूभन्दा साना कलाकारले गरेको जायज प्रश्नमाथि जाइलागेर श्री एअरलाइन्सको बचाउ गर्नुको भेद भने अझै खुल्न सकेको छैन । ज्योति आफैंले पहिलो स्ट्याटस डिलिट गरेर अर्को पोस्ट् गरेकी छन् । तर तर त्यसमा पनि उनले समीक्षामाथि त्यसरी दाह्रा नै किट्नु पर्ने कारणबारे प्रष्ट्याएकी छैनन् ।
सामान्य सेन्स लगाउँदा पनि थाहा लाग्छ कि समीक्षाले गरेको प्रश्नको जवाफ ज्याेतिले हाेइन, श्री एअरलाइन्सले दिने हो । यसरी संस्थाबारे प्रश्न उठ्दा हुने गरेको पनि त्यस्तै छ । तर यसमा ज्योति किन अघि सरिन् ? कि ज्योतिजीले श्री एअरलाइन्समा प्रवक्ताको नयाँ जागिर पनि थालेको हो र ?
ताजा अपडेट
-
छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने
-
अख्तियार र महालेखाबीचको समन्वय कानुनी रुपमै गर्ने प्रणाली बसाल्न सम्भव होला ?
-
नेप्से परिसूचकमा १९ अङ्कको वृद्धि
-
परराष्ट्रमन्त्री डा देउवा र कतारका मन्त्रीबीच भेटवार्ता, विपिनको रिहाइका लागि सहयोग गरिदिन आग्रह
-
पोखरामा भएको विष्फोटबारे छानविन गर्न गृहले बनायो समिति
प्रतिक्रिया