कुम्भमेलामा भागदौड मच्चिँदा ठूलो हताहती

काठमाडौं । भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी कुम्भ मेलामा भागदौड मच्चिएको छ । बुधबार राति करिब १ः३० बजे कुम्भ मेला लागेको घाटमा भागदौड भएको हो ।
घटनामा ठूलो मानवीय हताहती भएको बताइएको छ । प्रयागराज शहरका एक डाक्टरले नाम नबताउने सर्तमा समाचार एजेन्सी एएफपीलाई बताएअनुसार घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको छ । धेरै जना घाइते भएका छन्।
यद्यपि, प्रशासनले भने अहिलेसम्म कुनै पनि मृत्युको रिपोर्ट सार्वजनिक गरेको छैन।
यसैबीच, समाचार एजेन्सी पीटीआईले प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग टेलिफोन सम्पर्क गरेर अवस्थाबारे जानकारी लिएको जनाएको छ ।
मौनी अमावस्याको अवसरमा मंगलबार साँझदेखि अमृत स्नान भइरहेको थियो । त्यसै क्रममा यो घटना भएको हो। घटनापछि सबै सबै स्थानमा मौनी अमावस्याको अमृत स्नान स्थगित गरिएको छ ।
अखिल भारतीय परिषद्का अध्यक्ष महन्त रवीन्द्र पुरीले सञ्चारकर्मीहरू कुरा गर्दै भागदौडका कारण मौनी अमावस्या स्नान रद्द गरिएको बताए।
प्रत्यक्षदर्शीहरूले अचानक भीडले अवरोध तोडेर घाटमा बसिरहेका मानिसहरूमाथि आक्रमण गरेको बताएका छन् ।
प्रयागराज मेला प्राधिकरणकी ओएसडी आकांक्षा राणाले केही स्थानमा अवरोधहरू तोडिँदा भागदौड मच्चिएको जनाएकी छन् । उनले घटनाका घाइतेहरूको अहिले उपचार भइरहेको बताइन् ।
यसैबीच प्रशासनले अवस्थालाई थप बिग्रन नदिन भक्तजनहरूलाई जुनसुकै घाटमा स्नान गर्न र संगम घाटमा भीड बढाउन नदिन बारम्बार अपील गरिरहेको छ। धार्मिक गुरुहरूले पनि संगम घाट र अन्य घाटहरूको महत्त्व उस्तै रहेकाले पायक पर्ने स्थानमा स्थान गर्न अनुरोध गरेका छन् ।
जनवरी १३ बाट सुरु भएको कुम्भ मेलामा छ वटा अमृत स्नान हुन्छन् जसमा दुई वटा सम्पन्न भइसकेका छन् भने तेस्रो अमृत स्नान बुधबार चलिरहेको छ ।
चौथो अमृत स्नान ३ फेब्रुअरीमा, पाँचौं अमृत स्नान १२ फेब्रुअरीमा र छैटौं तथा अन्तिम अमृत स्नान २६ फेब्रुअरीमा हुनेछ।
प्रतिक्रिया