‘निरोगी नेपाल बनाउन एचपिभी खोप अभियान सुरु’
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पाठेघरको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप अभियान नेपाललाई भविष्यमा स्वस्थ बनाउन सुरु गरिएको बताएका छन् ।
उनले यो खोपबाट कोही पनि किशोरी वञ्चित हुन नदिन सबैले आ-आफ्नो ठाउँबाट प्रचारप्रसार र सहयोग गर्न आग्रह गरे । आज एचपिभी खोप अभियान २०८१ को शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले भने, “देशैभर खोप र जनशक्ति पुगेकाले लक्षित वर्ग खोपबाट नछुटून् भन्ने उद्देश्य सरकारको छ, निरोगी नेपाल बनाउन यसले सहयोग पु-याउनेछ, भविष्यमा नेपाललाई स्वस्थ बनाउन अभियानले काम गर्नेछ ।”
स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोखरेलले पाठेघरको मुखको क्यान्सरको समस्या सधैँका लागि समाधान गर्ने उद्देश्यले खोप अभियान सुरु गरिएको बताए । उनले भने, “हरेक वर्ष हामीले नियमित खोप तालिकामार्फत यो खोप किशोरीहरुलाई दिनेछौँ, प्रत्येक बालबालिकाको सुरक्षित भविष्य बनाउने सुनिश्चितता गर्न चाहन्छौँ ।”
कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा विकास देवकोटाले १४५ देशमा प्रयोग भइरहेको यो खोप नेपालले पनि समावेश गर्न पाउँदा गर्व लागेको बताए । उनले भने, “देशमा नसर्ने रोगको भार बढिरहेको छ, जसमा क्यान्सरको भार झन् बढ्दो छ, हरेक दिन छ जनामा पाठेघरको मुखको क्यान्सर देखिने र चार जनाको मृत्यु हुने गरेको छ, त्यसैले किशोरावस्थामा नै एचपिभी खोप अभियान सुरु गरेका हौँ, यो विद्यालय केन्द्रित खोप अभियान हो, छुटेका र विद्यालय बाहिरका छात्रालाई खोप दिइनेछ ।
मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपिभी खोप अभियान आगामी फागुन ६ गतेसम्म देशभर सञ्चालन गरेको छ । कुल १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने लक्ष्य सरकारको छ । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया