यस्तो रहनेछ आगामी तीन दिनको मौसम

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम सफा रहेको महाशाखाले जनाएको छ । साथै देशका तराई भागका केही स्थानमा हुस्सु लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
त्यसैगरी, आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी २४ घण्टामा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसका प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट जोगिन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
यसैबीच, विभागका मौसमविद् विनु महर्जनका अनुसार आगामी तीन दिनसम्म काठमाडौं उपत्यकामा पानीपर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रूपमा बादल लाग्नेछ ।
आज बिहान ५ः४५ बजेको यहाँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो यहाँको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने उनले बताइन् ।
ताजा अपडेट
-
काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा
-
प्रदूषणजन्य विपद् जोखिम न्यूनीकरणसम्बन्धी कार्ययोजनाको मस्यौदा तयार
-
बिपी राजमार्गको काभ्रे खण्डमा एक महिनाका लागि राति यातायात सञ्चालनमा रोक
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
प्रतिक्रिया