NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ चैत ८ गते

‘एचपीभी’ खोप ढुक्कसँग लगाउनुहोस्, यसले असर गर्दैन’

लेखनाथ । कास्कीको अन्नपूर्ण गाउँपालिका–२ स्थित माछापुच्छे माविमा कक्षा ८ मा अध्ययनरत छात्रा सजिना विकलाई (पाठेघरको मुखको क्यान्सरविरुद्धको (एचपीभी खोप) लगाउँदा कुनै समस्या हुने हो कि भन्ने डर मनभित्र थियो । तर खोप लगाएपछि त्यो डरपूर्ण रूपमा हट्यो ।

छात्रा विकले अन्य साथीलाई पनि ढुक्कसँग खोप लगाउन सल्लाह दिँदै हिडिन् । उक्त विद्यालयमा सजिनासँगै अध्ययनरत अन्य छात्रा खोप लगाउन डराइरहेका थिए । त्यसो त उक्त विद्यालयका छात्रालाई खोप लगाउन खटिएकी स्वास्थ्यकर्मी माया आचार्यले छात्रालाई सम्झाइ रहेकी थिइन्, खोप लगाउँदा कमिलाले टोके जति नै दुख्दैन, ढुक्कसँग लगाउनुहोस् यसले कुनै असर पनि गर्दैन ।

यो खोपले महिलामा हुने पाठेघरको मुखको क्यान्सर ९८ प्रतिशतले रोक्ने स्वास्थ्यकर्मी आचार्यले छात्रालाई भन्दै थिइन् । यो खोप १० देखि १४ वर्ष उमेर समूहका छात्रालाई देशैभरी लगाउने कार्य भइरहेको छ ।

सोही विद्यालयकै कक्षा ८ मा अध्ययनरत छात्रा इन्द्रा न्यौपाने सजिनाजस्तै खोप लगाउनु अगाडि डराइरहेकी थिइन् । तर लगाएपछि डर हट्यो । खोपको अनुगमन गर्न त्यहाँ पुगेका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले छात्रालाई भन्दै थिए, खोप ढुक्क भएर लगाउनु । यसले कुनै असर गर्दैन, खोप गुणस्तरीय पनि छ ।

नेपालमा धेरै महिला पठेघरको मुखको क्यान्सरबाट मृत्यु हुने गरेको तथ्याङ्कले देखाएको छ, विकसित राष्ट्रमा १०औं वर्षदेखि यो खोप नियमित लगाउने गरेका छन् । नेपालमा पनि यस वर्षदेखि सुरु भएको छ ।

पोखरा–२५ हेम्जाको धौलागिरि बोडिङ कक्षा ८ मा अध्ययनरत रोशनी क्षत्री दायाँ पाखुरामा लगाएको खोपले कुनै दुखाई नभएको बताउँदै आधा घण्टा आराम गरेपछि पुनः पहिलेकै अवस्थामा फर्किएको बताइन् । धौलागिरि वोर्डिङमा कक्षा ६ देखि १० कक्षासम्म अध्ययनरत एक सय ५१ जना छात्रालाई उक्त खोप लगाइएको थियो ।

कास्कीमा यही माघ २२ गतेदेखि आगामी फागुन ६ गतेसम्म देशैभरि यो खोप सञ्चालनमा आइरहेको छ । खोपको अनुगमन गर्न पोखरा–३ स्थित बाल मन्दिर विद्यालय पुग्नुभएका गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री मन्त्री पाठकले विद्यालय बाहिर रहेका किशोरीलाई पनि खोपको पहुँमा ल्याउने जानकारी दिए ।